अखण्ड सुदूरपश्चिमको विषय समावेश गरिएकामा जनजाति असन्तुष्ट

कञ्चनपुर- कञ्चनपुरको निङ्गलाशैनी स्रोत केन्द्रले कक्षा १० को नेपाली विषयको प्रश्नपत्रमा अखण्ड सुदूरपश्चिमको विषय समावेश गरेकोमा आदिवासी जनजाति समुदायले असन्तुष्टि जनाएको छ। गत मङ्सिर दोस्रो साता सञ्चालन गरिएको अर्ध वार्षिक परीक्षामा नेपाली विषयको प्रश्नपत्रमा अखण्ड सुदूरपश्चिसम्बन्धी निबन्ध लेख्न विद्यार्थीलाई सोधिएको थियो।

आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् कञ्चनपुरले बिहीबार प्रशासन कार्यालय र शिक्षा कार्यालयलाई ज्ञापनपत्र बुझाएर अखण्ड सुदूरपश्चिमको विषय राखिएकामा असन्तुष्टि जनाएको हो। महासङ्घले अखण्ड सुदूरपश्चिमको विषय समावेश गरेर प्रश्नपत्र बनाउने शिक्षकमाथि कारबाही गर्न मागसमेत गरेको छ। सङ्घीय संरचनामा सुदूरपश्चिमलाई अखण्ड बनाउने वा थारुवान बनाउने दुई पक्षबीच द्वन्द्व चर्र्किएका कारण गत वैशाखमा एक महिना सुदूरपश्चिम बन्द भएको थियो।
महासङ्घले स्रोत केन्द्र मातहतका शिक्षकले जातीय अहंमताका कारण परीक्षामा अखण्ड सुदूरपश्चिमको विषय राखेर सामाजिक सद्भाव बिथोल्न खोजेको आरोप लगाएको छ। प्रमुख जिल्ला अधिकारीलाई दिइएको ज्ञापनपत्रमा सामाजिक सद्भावसित जोडिएको विषयलाई गम्भीररुपमा लिएर छानबनि गर्न माग गरिएको छ। आदिवासी जनजाति महासङ्घ आबद्ध थारु कल्याणकारिणी सभा, नेपाल मगर सङ्घ, नेपाल तामाङ घेदुङ, नेवाःदबू कञ्चनपुर, राजी शाल्म समाज, तमु ह्युल छोंज छिं, भुजेल सेवा समाज समिति, नेपाल झाँगड उराव कोड्रेम सुधार, नेपाल राउटे विकास सङ्घ, नेपाल रानाथारु समाज कञ्चनपुरलगायतले संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका हुन्। रासस

Leave a Reply

Your email address will not be published.