द्वन्द्वपीडित शिक्षकको पुनर्बहाली गर्न आयोग

काठमाडौं, मङ्सिर २८- सरकारले द्वन्द्वकालमा विभिन्न कारणबाट जागिर छोड्न बाध्य भएका शिक्षकहरुको समस्या समाधान गर्न पुनरावेदन अदालत पाटनका पूर्व मुख्य न्यायाधीश जागेश्वर सुवेदीको अध्यक्षतामा तीन सदस्यीय छानबिन आयोग गठन गरेको छ। मन्त्रिपरिषद्को आज बसेको बैठकले जनयुद्धकालमा सेवाबाट वञ्चित भएका शिक्षकहरुको समस्या समाधान गरी उनीहरुलाई राहत दिनका लागि छानबिन आयोग गठन गरिएको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले जानकारी दिए।
यसैगरी बैठकले ग्रामीण पहुँच कार्यक्रम तेस्रो चरणका लागि बेलायत सरकारबाट प्राप्त रु पाँच अर्ब ११ करोड अनुदान सहयोग स्वीकार गर्ने निर्णय गरेको छ।

बैठकले मित्रराष्ट्र बङ्गलादेश सरकारले बङ्गलादेशको स्वतन्त्रता सङ्ग्राममा उल्लेखनीय सहयोग पुर्‍याएवापत प्रदान गर्न लागेको सम्मान ग्रहण गर्न नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी, पूर्व सभामुख दमननाथ ढुङ्गाना र पूर्वमन्त्री चक्र बास्तोलालाई स्वीकृति प्रदान गरेको छ।
यसैगरी सुकुम्बासी समस्या समाधान आयोगको म्याद २०७० साल असार मसान्तसम्म थप गरेको सरकारका प्रवक्ता यादवले जानकारी दिए। बैठकले मोरङ कानेपोखरी रङ्गेली सडक निर्माणका लागि सडक रेखाङ्कनमा परेका वन क्षेत्रभित्रका विभिन्न प्रजातिका ४२९ वटा रुख काट्ने स्वीकृति प्रदान गरेको छ।
यसैगरी मन्त्रिपरिषद्को बैठकले नेपाल खानेपानी संस्थानको महाप्रबन्धक एवं उपसचिव भरतमणि पौडेलले दिनुभएको राजीनामा स्वीकृत गरेको छ। बैठकले बुढीगण्डकी जलविद्युत् आयोजना विकास समितिको अध्यक्षमा डा लक्ष्मी देवकोटा, नलसिंहगाड जलविद्युत् आयोजना विकास समितिको अध्यक्षमा शेरबहादुर शाही र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल विकास समितिको अध्यक्षमा डा प्रभु साहलाई नियुक्ति गरेको छ। रासस

Leave a Reply

Your email address will not be published.