पाँच दिनमा सहमति नभए अहिलेकै सरकारबाट निर्वाचन : पौडेल

काठमाडौं- प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले राष्ट्रपतिले सहमतिका लागि दिएको पाँच दिनको समयमा सहमति नभए यही सरकारको नेतृत्वमा निर्वाचनमा जानुपर्ने बताएका छन्। रिपोर्टर्स क्लब नेपाल बिहीबार आयोजना गरेको साक्षात्कारमा रिक्त संवैधानिक निकायमा पदाधिकारी नियुक्ति, संविधान सभाको निर्वाचनको मिति घोषणा, संविधानका सहमति भएका विषयलाई समेटेर संविधानको प्रारम्भिक खाका तयार पार्ने विषयमा प्याकेजमै सहमति भए मात्रै प्रधानमन्त्रीले मार्गप्रसस्त गर्ने स्पष्ट पारे।

उनले पूर्ण बजेट नस्विकार्ने, संवैधानिक नियुक्ति नस्विकार्ने अवस्थामा विपक्षीले भनेको कुरा आफूहरु समेत स्विकार्न बाध्य नभएको बताए। उनले भने– नयाँ सरकारले के के गर्ने भन्ने विषयमा स्पष्ट नभई प्रधानमन्त्रीले पद छाड्ने कुरा हुँदैन। कुनै पार्टीले राजीनामा माग्दैमा दिइहाल्ने कुरा हुँदैन। प्याकेजमै सहमति नभई कांग्रेस सभापति सुशील कोइरालालाई स्विकार्दैनौं। उमेदवार त सुशिलजीले मात्रै होइन, मुस्कान सेनाले पनि घोषणा गरेको छ।

उनले विपक्षीले बाबुराम भट्टराईको ठाउँमा अध्यक्ष दाहाललाई स्वीकार्ने विपक्षीको कुरा धमिलो पानीमा माछा मार्ने दाउँ र पार्टी फुटाउने चालमात्रै भएको भन्दै माओवादीले शान्ति प्रक्रियामा आएपछि धेरै खेल खेलिसकेकाले माओवादी त्यस्तो खेलको भ्रममा नपर्ने स्पष्ट पारे।

Leave a Reply

Your email address will not be published.