भरत केसी, बुटवल- बुद्ध जन्मस्थल लुम्बिनीको प्रचारप्रसार गरेर विश्व समुदायलाई चिनाउने र पर्यटक लुम्बिनी भित्र्याउने उद्देश्यले आयोजना गरिएको लुम्बिनी भ्रमण वर्ष २०१२ को अवधिभर बुद्धको जीवनीसँग जोडिएका प्रमुख बुद्धिस्ट सर्किटहरूलाई छुन सकेन। लुम्बिनी भ्रमण वर्षमा बुद्धको जीवनीसँग सम्बन्धित स्थानहरूको प्रचार–प्रसार र विकास गर्ने गरी लुम्बिनी विकास कोषले कुनै महत्वपूर्ण कार्यक्रमका लागि चासो नदिँदा कपिलवस्तु, रूपन्देही र नवलपरासीका झन्डै एक दर्जनभन्दा बढी बुद्धिस्ट सर्किट भ्रमण वर्षको ओझेलमा परेका छन्।
यसका साथै ती क्षेत्रमा भ्रमण वर्षको एक वर्षको अवधिमा कुनै प्रभावकारी कार्यक्रम बन्न नसक्नु र विकासका अन्य पूर्वाधार निर्माणमा समेत चासो नदिइनुले यी क्षेत्रमा भ्रमण वर्षको प्रभाव शून्यजस्तै देखिएको छ।
लुम्बिनीदेखि २५ किलोमिटर पश्चिममा रहेको गौतम बुद्धको २९ वर्ष बितेको ठाउँ र उनका बाबु राजा शुद्धोदनको राजप्रासाद प्राचीन कपिलवस्तु (तिलौराकोट) रेखदेख संरक्षणको अभावमा खण्डहर बन्दै गएको छ।
कपिलवस्तुको तिलौराकोटलगायत दर्जनौं बुद्ध सर्किटहरूमा भ्रमण वर्षको अन्तिम समयसम्म पनि कुनै महत्वपूर्ण कार्यक्रम भएका छैनन्।
बुद्ध जन्मस्थल तिलौराकोट क्षेत्र ठूलाठूला रुख र झारले जङ्गलजस्तै देखिन्छ। न बस्ने ठाउँ छ, न पर्यटकीयस्थलहरूको परिचय पुस्तिका। यहाँ आउने पर्यटकले वास्तविक परिचय पनि पाउन नसक्ने स्थानीय उमेश भण्डारीले बताए।
लुम्बिनी विकास कोषभित्र तिलौराकोट २०५२ सालमा समावेश गरी विकास कार्यलाई एकीकृतरूपमा अघि बढाउने कार्यक्रम अलपत्र परेको छ। यहाँ संसारभरबाट आउने पर्यटक कपिलवस्तु प्रवेश गर्दा जति रोमाञ्चित हुने अनुभव गर्छन्, उजाड अनि लथालिंग बुद्धसँग सम्बन्धित यहाँका प्राचीनस्थलहरू देख्दा त्यत्तिकै निरास बनेर फर्कने अवस्था छ।
यहाँ रहेका बुद्धस्थल तिलौराकोटसँगै अन्य महŒवपूर्ण स्थानहरू कुदान, गोटिहवा, निगालीकोट, ७७ हजार शाक्यहरूको बधस्थल सगरहवा ताललगायत स्थलमा आउने पर्यटक निरास बनेर फर्कने अवस्था छ।
सय बढी पुरातात्विक ऐतिहासिक स्थलहरू संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा छन्। सरकारी उपेक्षाले मात्र नभई मानवीय अतिक्रमण बढ्दै जाँदा ती स्थलको अस्तित्व सङ्कटमा परेको छ।
यस्तै अवस्था छ बुद्धस्थलमा तीर्थाटन गर्न आएका बेला भारतीय सम्राट आशोकले स्थापित गरेका गोटिहवा र निग्लिहवाको स्तम्भहरू चौपाया चराउने र बाँध्ने स्थल बनेका छन्। त्यस्तै शाक्यहरूको बधस्थल सगरहवा, कनकमुनि बुद्धको सहर अरौराकोट र बुद्धको न्यायालय मानिएको निग्रोधा राम (कुदान), राजा शुद्धोदन र रानी मायादेवीको समाधिस्थल धमनीहवा उजाड छन्।
लुम्बिनी भ्रमण वर्षलाई लक्षित गरी केन्द्रबाट पनि कुनै बजेट नआएको र जिल्लामा पनि कुनै कार्यक्रम तर्जुमा नगरिएको तिलौराकोटस्थित लुम्बिनी विकास कोषको शाखा कार्यालयका प्रमुख माधव आचार्यले बताए। जिल्ला विकास समितिको पहलमा नेपाल–भारत सीमा क्षेत्र चाकरचौराहामा गौतमबुद्ध प्रवेशद्वार निर्माण गरिएको उनी बताउँछन्।
बुद्धको जीवनीसँग जोडिएको कपिलवस्तुका महŒवपूर्ण बुद्ध सर्किटहरू जत्तिकै महत्वपूर्ण बुद्ध मावली रूपन्देहीको देवदहमा पनि भ्रमण वर्षले छुन सकेको देखिँदैन। भ्रमण वर्षका लागि विकास कोषले यस क्षेत्रमा पनि खासै कुनै प्रभावकारी कार्यक्रम अगाडि सारेको देखिँदैन।
बुद्ध जन्मस्थल लुम्बिनीदेखि झन्डै ७० किलोमिटर पूर्व–उत्तर पूर्व–पश्चिम राजमार्गसँग जोडिएको रूपन्देहीको देवदह गाविसलाई बुद्ध मावली क्षेत्र मानिन्छ।
लुम्बिनी भ्रमण वर्ष २०१२ को प्रमुख उद्देश्य बुद्ध जन्मस्थल लुम्बिनीसँगै गौतमबुद्धसँग जोडिएका महत्वपूर्ण क्षेत्रहरूको पनि विकास र प्रचारप्रसार गर्ने उल्लेख गरेको छ। तर भ्रमण वर्षमा देवदहमा भ्रमण वर्षको कुनै पनि पूर्वाधार निर्माण भएको छैन।
भ्रमण वर्ष सुरु हुँदासम्म लुम्बिनीसँग जोडिएका देवदह, रामग्राम र तिलौराकोटलाई पनि चिटिक्कै सिँगारिने लुम्बिनी विकास कोषले जनाएको थियो। तर, त्यो व्यवहारमा लागु हुन सकेन। बुद्ध मावली देवदहको संरक्षण हुन नसक्दा पुरातात्विक वस्तुहरू नासिँदै गएका छन्। पुरातत्व विभागले उत्खनन् सुरु गरेको भए पनि थुप्रै ऐतिहासिक वस्तुहरू नासिइसकेको जानकारहरू बताउँछन्।
सिद्धार्थ गौतम बुद्धकी आमा मायादेवी, पत्नी यशोधरा र उनलाई लालनपालन गर्ने उनकी सानीआमा प्रजापति गौतमीको जन्मभूमि देवदह प्राचीन कोलिय गणराज्यको राजधानी हो। देवदह क्षेत्रमा कन्यामाई, बैरीमाई, भवानीपुर, बंगालालगायत थुप्रै ऐतिहासिक स्थल छन्। त्यहाँ अहिले पनि दरबारका भग्नावशेषदेखि त्यतिबेलाका कुवा, अशोकस्तम्भ, पाकरीको वृक्ष, मन्दिर तथा पर्खाल देख्न सकिन्छ।
भ्रमण वर्षसँगै गौतम बुद्धको आमा मायादेवीको जन्मघर देवदहले पनि केही पाउने स्थानीयको आशा थियो। ‘भ्रमण वर्षको करिब ११ महिना बितिसक्यो अहिलेसम्म देवदहमा पूर्वाधार नै बनेको छैन,’ देवदह क्षेत्रका विषयमा अनुसन्धान गरिरहेका कृष्ण न्यौपानेले भने, ‘लुम्बिनी विकास कोषले देवदह महत्वलाई अझै पनि बुझ्न सकेको रहनेछ।’
प्राचीन कोलिय राज्य देवदहको लुम्बिनीको जत्तिकै महत्व रहेको भए पनि सरकारी उदासीनता, लुम्बिनी विकास कोषको बेवास्ताका कारण देवदह दिनप्रतिदिन ओझेलमा परेको देवदह क्षेत्र विकास समितिका अध्यक्ष रमेश पाण्डेले बताए। उनले भने, ‘कम्तीमा भ्रमण वर्षमा देवदहले केही पाउँछ कि भन्ने आशा थियो, त्यो पनि बोलीमा मात्रै रहेछ।’
लुम्बिनी विकास कोष ऐन २०४२ मा पनि लुम्बिनी भन्नाले तिलौराकोट, रामग्राम र देवदहलाई समेत जनाउने स्पष्ट उल्लेख गरिएको छ। सिद्धार्थ गौतमको मावलीस्थान देवदहमा कोषका तर्फबाट हालसम्म सामान्यरूपले उत्खनन र केही ठाउँमा तारबारबाहेक खास केही पनि नभएको न्यौपानेले बताए।
लुम्बिनी भ्रमण वर्ष २०१२ मा लुम्बिनी र यससँग सम्बन्धित क्षेत्रहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन व्यापक प्रचार–प्रसार गर्ने योजना अगाडि सारिए पनि यसको जिम्मेवारीमा रहेका सदस्यहरूले जिम्मेवारी पूरा गर्न नसक्नु, आर्थिक पारदर्शिताको समस्याजस्ता कमजोरीका कारणले भ्रमण वर्ष नै प्रभावित भएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ओमप्रकाश अर्याल बताउँछन्।
उनले लुम्बिनी र यससँग सम्बन्धित क्षेत्रहरूमा पर्यटक पुर्याउन भ्रमण वर्षमा कुनै योजना समावेश नगरिएको बताउँदै यो नै भ्रमण वर्षको योजनाको प्रमुख कमजोरी भएको बताए। रासस