प्रधानमन्त्रीको दौडमा म छैन : गच्छदार

काठमाडौं- उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले आफू प्रधानमन्त्रीको दौडमा नरहेको स्पष्ट पार्दै वर्तमान प्रधानमन्त्री बाबुराम भट्टराईबाहेकको नयाँ मान्छे प्रधानमन्त्री बन्ने घोषणा गरेका छन्। रिपोर्टर्स क्लबले सुरु गरेको ‘रिपोर्टर्स क्लब नेपालको अभियान, तत्काल राष्ट्रिय सहमतिको सरकार’ अभियानअर्न्तगतको विशेष साक्षात्कारमा उनले भने– हामी नेतृत्वको विषयमा खुल्ला छौं। म प्रधानमन्त्रीको दौडमा छैन। अरुलाई नै अहिले प्रधानमन्त्री बनाउने हो। वर्तमान प्रधानमन्त्री बाबुराम भट्टराईको पनि कुरा नगर्नुस नयाँ मान्छे प्रधानमन्त्री बनाउँछौं।

गच्छदारले कसैलाई निषेध गरेर अहिले सहमति बन्न नसक्ने स्पष्ट पार्दै उनले केही दिनभित्रै दलहरुबीच सहमति बन्ने विश्वास ब्यक्त गरे। उनले मुलुकको बृहत्तर स्वार्थका लागि पहिलादेखि नै भूमिका खेल्दै आएको उल्लेख गर्दै अहिले आफू दलहरुबीच सहमतिको वातावरण निर्माणमा लागेको बताए। अहिलेको सरकारमा जस्तो मन्त्रालय नपाएर नयाँ सरकार गठन गर्न नचाहेको भनि सञ्चारकर्मीले राखेको जिज्ञासामा गच्छदारले भने– विजयकुमार गच्छदार यो सरकारको प्रमुख अंशियार हो। कसैको बकस दिएर उपप्रधानमन्त्री पाएको होइन। माधवकुमार नेपालको पालामा पनि म उपप्रधानमन्त्री भएको थिए।

बुधबार सम्ममा दलहरुबीच सहमति नबने मन्त्रिपरिषद् विस्तार गर्ने सत्तारुढ गठबन्धनको निर्णयले अहिले मुलुकमा राष्ट्रपति प्रधानमन्त्री र दलहरुबीच द्वन्द्व बढाउने भन्दै सहमति बनाउनुपर्ने बेला द्वन्द्व बढाउनतर्फ लाग्न नहुने तर्क गरे।

उनले भने– अहिले मन्त्रिपरिषद् विस्तार गरेर मुलुकलाई मुडभेडमा लानु हुँदैन। यसो गरे राष्ट्रपति , प्रधानमन्त्री र अन्य दलहरुबीच द्वन्द्व बढ्छ। यो निर्णय संवैधानिक नहुने, सहमतिको वातावरण विथोल्ने खालको हुन्छ भन्ने हाम्रो आशंका छ।

बाहिर आएजस्तो संविधानका सबै अर्न्तबस्तुमा सहमति हुन नसक्ने भन्दै संघीय लोकतान्त्रिक गणतान्त्रिक नेपालको संघीयता सहितको संविधान संविधान सभाबाटै बन्ने, पहिचानसहितको संघीयता हुने र स्वायत्त प्रदेशहरु हुने गरी जेठ १४ अघिसम्म दलहरुबीच भएको न्यूनतम सहमतिलाई लिपिबद्ध गरेर अघि बढे सहज हुन्छ भन्ने आफूहरुको धारणा रहेको गच्छदारले सुनाए।

उनले भने– कति प्रदेश बन्ने हो अहिलेनै सहमति बन्न सक्दैन। संविधान सभाको सार्वभौम सत्ता समाप्त पार्ने गरी सहमति गरौ भनेर हामीले भनेको होइन।

Leave a Reply

Your email address will not be published.