मनिषाको शल्यक्रिया सम्पन्न

काठमाडौं, एजेन्सी- अभिनेत्री मनिषा कोइरालाको शल्यक्रिया सम्पन्न भएको छ। अमेरिकाको न्युयोर्कस्थित एक अस्पतालमा सोमबार बिहान ९ बजे उनको शल्यक्रिया सकिएको टाइम्स अफ इन्डियाले जनाएको छ। ‘सोमबार बिहान ९ बजे मनिषाको शल्यक्रया सफल भएको उनको परिवारबाट मैले म्यासेज पाएँ,’ कोइरालाकी म्यानेजर सुब्रोतो भोषले भने, ‘मनिषासँगै उनका आमा, बुबा, भाइ अनि एकजना नजिकको साथी रहेका छन्।’
सन् १९९१ मा सुभाष घईको हिट फिल्म ‘सौदागर’बाट बलिउडको रंगीन दुनियाँमा प्रवेश गरेकी मनिषा अभिनयका लागि प्रशंसित थिइन्। विधुविनोद चोपडाको ‘१९४२ : अ लभस्टोरी’, मणिरत्नमको ‘मुम्बई’ र ‘दिल से’लगायत संजय लीला भन्सालीको ‘खामोशीः द म्युजिकल’मा उनको अभिनयको सबैले तारीफ गरेका थिए। अक्टोबर दोस्रो साता रिलिज रामगोपाल बर्माको फिल्म ‘भूत रिटर्न्स’बाट मनिषाले बलिउडमा फेरि प्रवेश गरेकी थिइन्।

सुरुमा उनको बिमारीबारे अड्कलबाजी गरिए पनि एक साताअघि मनिषा आफैंले सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमार्फत् आफ्ना प्रशंसक र शुभचिन्तकलाई आफूलाई गरेको मायाप्रति धन्यवाद दिएकी थिइन्। उनले आफू उपचारका लागि उचित ठाउँमा पुगेको र सबैका प्रार्थनाले रोगमुक्त हुने विश्वास राखेको उल्लेख गरेकी थिइन्।

Leave a Reply

Your email address will not be published.