प्याकेजमा सहमति नभइ सत्ता नछाड्ने : अर्थमन्त्री पुन

सल्यान- अर्थमन्त्री वर्षमान पुनले दलहरुबीच विवादित विषयमा प्याकेजमै सहमति नभएसम्म सत्ता नछाड्ने बताएका छन्। सल्यानको फारुलाचौर–१ मा रहेको फारुलाचौर बहुमुखी क्याम्पसमा बिएड क्याम्पसको उद्घाटन गर्दै अर्थमन्त्री पुनले संविधानमा मिल्न बाँकी विषयमा सहमति भएमात्र नेपाली काँग्रेसको नेतृत्वमा सरकार बन्न सक्ने बताए। 
वर्तमान सरकारलाई नै राष्ट्रिय सहमतिको सरकारको स्वरुप दिने विषयमा समेत छलफल भइरहेको बताउँदै उनले कांग्रेस, एमाले विगतमा भएका सहमतिअनुसार जान नचाहेको आरोप लगाए।
अहिले अग्रगामी परिवर्तन चाहने र यथास्थिति चाहने शक्तिहरुबीच ठूलो सङ्घर्ष भइरहेको भन्दै मन्त्री पुनले कुनै पनि हालतमा देशलाई यथास्थितिवादीहरुको हातमा सुम्पन नसकिने स्पष्ट पारे।
राजनीतिक दलहरुले सङ्क्रमणकालको चाँडै अन्त्य गर्नुपर्ने भन्दै उनले सङ्क्रमणकालको समयमा परिवर्तनका बाधक शक्तिहरु आफ्नो पूरै शक्तिसहित देशमा षड्यन्त्रका जाल बुनिरहेको बताए। परिवर्तनका मुद्दामा सहमत नभएर विपक्ष दलहरु सत्तालोभमा मात्र लागेको उनको आरोप थियो। रासस

Leave a Reply

Your email address will not be published.