चिकित्साशास्त्र पढ्न गएका विद्यार्थी चीनमा अलपत्र

काठमाडौं- चीनका विभिन्न विश्वविद्यालयमा एमबिबिएस तथा एमडी पढ्न गएका ६० भन्दा बढी विद्यार्थी अलपत्र अवस्थामा रहेको तिनका अभिभावकले बताएका छन्। चीनको साउदर्न विश्वविद्यालयमा एमबिबिएस गर्न गएका आठ, लाउनिङ विश्वविद्यालयमा एमडी गर्न गएका १७, चाउचाङ विश्वविद्यालयमा एमबिबिएस गर्न गएका छ, सोही विश्वविद्यालयमा एमडी गर्न गएका आठ, जिङ्दाओ विश्वविद्यालयमा एमबिबिएस गर्न गएका ११, र तेनजिन विश्वविद्यालयमा एमबिबिएस गर्न गएका दुई, र एमडी गर्न गएका २७ जना विद्यार्थी अलपत्र परेका हुन्। 
काठमाडौं महानगरपालिका १३, कालिमाटीस्थित चण्डी कम्प्लेक्समा रहेको मदरल्याण्ड च्यारिटेबल फाउण्डेसनका सञ्चालकहरुले उक्त विश्वविद्यालयहरुमा विद्यार्थीका तर्फबाट बुझाउनुपर्ने शुल्क नबुझाएका कारण विश्वविद्यालयहरुले विद्यार्थीलाई फिर्ता पठाउने भएपछि विद्यार्थी अलपत्र परेका हुन्।
आज रिपोर्टर्स क्ल्बमा आयोजना गरिएको साक्षात्कार कार्यक्रममा पीडित विद्यार्थीका अभिभावक पुरुषोत्तम ढुङ्गेलले मदरल्याण्ड च्यारिटेवल फाउन्डेसनका सञ्चालकहरु क्रमशः डा मुकेश झा, इन्जिनियर डा राधा झा तथा प्रविण पहरीले अध्ययन शुल्क समयमा नै भुक्तान नगरेका कारण विद्यार्थीलाई विश्वविद्यालयहरुले फिर्ता पठाउन लागेको बताए। पीडित अभिभावकहरुले सो फाउन्डेसनमार्फत् एमबिबिएस अध्ययन गर्न जनही रु १२ लाख र एमडीका लागि जनही रु सात लाख ५० हजार भुक्तान गरेका थिए।
करिब रु चार करोड ५० लाख असुल गरेका सञ्चालक त्रयले पहिलो चरणअन्तर्गतको रकम विश्वविद्यालयलाई बुझाए पनि दोस्रो र तेस्रो चरणको किस्ता नबुझाइदिएकै कारण आफ्नो छोरा अलपत्र अवस्थामा परेको अभिभावक अर्जुनकुमार थापाले सो अवसरमा जानकारी दिए।
करिब रु चार करोड ५० लाख असुलउपर गरी फरार रहेका सञ्चालक त्रयलाई पक्राउ गरी कानुनी कारबाही गर्न पीडित अभिभावकले महानगरीय प्रहरी परिसर काठमाडौँमा उजुरी दिएको लामो समय भइसक्दा पनि प्रहरीले चासो नदेखाएको पीडित अभिभावक ताराकुमारी राईले बताए।
काठमाडौं महानगरपालिका वडा नं २१ घर भएका अनिता शाक्य र प्रविना खोखालीले विसं २०६७ साल भदौ २ गते कम्पनी रजिस्ट्रारको कार्यालयमा मदरल्याण्ड च्यारिटेबल फाउन्डेसन दर्ता गरेका थिए।
अलग व्यक्तिको नामबाट दर्ता गरी अलग व्यक्तिले ठगी गरेका घटनाले अभिभावकहरु निकै चिन्तित देखिएका छन्। ठगी गर्ने झा र पहरीले विद्यार्थीलाई एमबिबिएस तथा एमडी पढ्न ५० प्रतिशत छात्रवृत्तिमा लैजाने बताउँदै सो रकम ठगी गरी फरार भएको बुझिन्छ।

नेपालमा काठमाडौँ विश्वविद्यालयअन्तर्गत १० र त्रिभुवन विश्वविद्यालयअन्तर्गत नौ गरी १९ क्याम्पसमा वार्षिक दुई हजार विद्यार्थीले एमबिबिएस अध्ययन गर्दै आएको भए पनि कतिपय अभिभावकले मुलुक बाहिरका विभिन्न देशमा सहजकर्तामार्फत एमबिबिएस तथा एमडी पढाउन पठाउँदै आएको पाइन्छ। रासस

 

Leave a Reply

Your email address will not be published.