जाडोमा सौराहा

सुमन घिमिरे, कुहिरोले ढाकेको विहान। त्यही कुहिरो चिर्दै झुल्किने घाम। घामका किरण पछ्याएर हिड्ने चरा र तिनको चिरविराहट। जाडोको बिहानी यस्तै दृश्यबाट सुरु हुन्छ सौराहामा। प्रकृतिप्रेमी जो कोहिलाई सौराहाले मोहनी लाउँछ। मानिसलाई मात्र होइन, साइबेरियादेखिका चरालाई पनि।
राप्ती किनारमा साइबेरियाली चरा आइसकेका छन्। नदीमा सयर गर्दा होस् वा जंगलभित्र गैंडा, बाघ, भालुको खोजीमा हिँड्दा मनबाटै सन्तुष्ट हुने बेला जाडो महिना हो। उराठ लाग्दो गर्मी भन्दा जाडोमा चितवन राष्ट्रिय निकुञ्ज भ्रमण सजिलो र रोमाञ्चक हुन्छ। यात्रामा होस् या गन्तव्य पुगिसकेपछि, गर्मी भन्दा जाडो उत्तम हुन्छ।
यहाँ सस्ता होटलदेखि महँगो होटल व्यवस्था छ। काठमाडौं र पोखरामा यो समयमा हुने अत्यधिक चिसो छल्न सौराहा भ्रमण गर्नेहरुको संख्या बढ्दै गएको छ। सौराहामा यतिबेलाको तापक्रम मध्यम हुन्छ। न जाडो न गर्मी। बिहान र बेलुका न्यानो कपडा लाउनुपर्ने हुन्छ भने दिउँसो सर्ट मात्र लाएर हिँड्न पनि सकिन्छ।
जाडोमा हात्ती चढेर जंगल घुम्नको मज्जा अर्कै हुन्छ। रुखका पातलाई हात्तीको सुँडले हल्लाउँदा झर्ने शितका थोपाले वर्षादी दिनहरुको याद गराउँछ। जाडोमा जनावर अवलोकन पनि उल्लेख्य मात्रामा हुन्छ। गर्मीमा पानी मुनि लुक्ने गोही यस बेला घाम ताप्न बगरमा देख्दाको दृष्य मनमोहक हुन्छ।
यस्तो दृष्य जाडोमा देख्न सकिन्छ। खुल्ला चौरमा घाम तापेर बसिरहेका जनवार पनि मज्जाले हेर्न सकिन्छ। यस अर्थमा पनि सौराहा भ्रमण जाडोमा ठीक छ। अहिले विद्यार्थीको जाडो विदा मनाउने ठाउँका रुपमा पनि सौराहा उत्कृष्ट गन्तव्य बन्दैछ। कोही परिवारसँग त कोही स्कुले साथीसँग भ्रमण गर्न आउँछन्।
दिनभरको थकान र बेलुकीको चिसोलाई क्याम्प फायरले विर्साई दिन्छ। क्याम्प फायर अनि बारबिक्युको मज्जा लिन पनि सौराहा भ्रमण जाडोमा ठिक छ। जाडोमा आउँदा जीप सफारी गर्न पाइन्छ। यो सफारीबाट निकुञ्ज मुख्यालय कसरासम्म पुग्न सकिन्छ। ३४ किमि सफारी लगभग ४ घण्टामा पुरा हुन्छ। जीपमा जाँदा कसरामा गोही प्रजनन केन्द्र हेर्न सकिन्छ।
यस्तै हरेक वर्ष पुसमा सौराहामा अन्तर्राष्ट्रिय हात्ती दौड प्रतियोगिता हुन्छ। यसपाली नवौं दौड पुस ११ देखि १३ गतेसम्म हुँदैछ। भिमकाय हात्तीमा चढेर जंगल घुम्ने सामान्य भए पनि हात्तीको दौड हेर्ने अवसर सधैं पाइँदैन। चितवन हात्ती महोत्सव अन्तर्गत विभिन्न खेल मध्य हात्ती दौड एक हो। यसबाहेक हात्तीका छावाबीचको फुटबल पनि रमाइलो हुन्छ। गत वर्षदेखि हात्ती सौर्न्दय प्रतियोगिता पनि थप गरिएको छ। त्यो मौका हेर्न नचुकौं है।
(लेखक क्षत्रीय होटल संघ सौराहाका सचिव हुन्।)

नागरिक दैनिबाट साभार

Leave a Reply

Your email address will not be published.