कमैया बाबुरामको घरबाट फर्किए प्रधानमन्त्री बाबुराम

मुक्त कमैया बाबुराम चौधरीकझ घरमा थारु परिकार खाँदै प्रधानमन्त्री बाबुराम भट्टराई। तस्बिर : पुष्पराज जोशी

धनगढी- प्रधानमन्त्री बाबुराम भट्टराईले कैलालीको टीकापुरमा नवनिर्मित टीकापुर अस्पताल भवनको आज बिहान उद्‍घाटन गरेका छन्। नेपाल सरकारको करिब रु चार करोडको लागतमा निर्मित उक्त अस्पताल २५ शय्याको छ। जीर्ण अवस्थामा रहेको टीकापुर अस्पतालको शल्यक्रिया कक्ष र अन्य मर्मतसम्भार समेतको निर्माण कार्य गएको असारमा सम्पन्न भएको अस्पतालका डा नरेन्द्रकुमार खनालले बताए। 
दैनिक करिब २०० बिरामी उपचारार्थ आउने गरेको टीकापुर अस्पतालमा तीनजना चिकित्सकको दरबन्दी भए पनि लामो समयदेखि एकजना चिकित्सकको भरमा मात्रै अस्पताल सञ्चालन हुँदै आएकाले समस्या भइरहेको डा खनालले बताए।
समारोहमा प्रधानमन्त्री भट्टराईसमक्ष अस्पतालको विकाससम्बन्धी मागपत्र पेस गरिएको थियो। यस्तै टीकापुर विकास समिति, टीकापुर उद्योग वाणिज्य सङ्घलगायतले पनि प्रधानमन्त्रीसमक्ष विभिन्न माग राख्दै मागपत्र पेस गरेका थिए।
टीकापुरमै रहेको मुक्तकमैया शिविरमा शुक्रबार राति बास बस्नुभएका प्रधानमन्त्री भट्टराईसमक्ष मुक्तकमैयाले आफूहरुको उचित पुनःस्थापना गर्न आग्रह गरेका थिए। यस क्रममा उनले मुक्त कमैयाको उचित पुनःस्थापनाका लागि आफूले सक्दो पहल गर्ने बताए।
मुक्तकमैया बाबुराम चौधरीको घरमा बास बस्नुभएका प्रधानमन्त्री भट्टराइले ढिग्री, मुसाको चट्नी, घोंगी, अनदी चामलको भात, माछालागायतका चौधरी समुदायका खानाका परिकार खाएका थिए। उनी आजै बिहान नेपालगन्जतर्फ गएका छन्। रासस

Leave a Reply

Your email address will not be published.