थारु बस्तीमा होमस्टे

मुकेश टेंर्रा, कैलाली- दुई वर्षदेखि कैलालीको उर्मा–८ भादामा सञ्चालन भइरहेको होम स्टेमा पर्यटक आगमन बढ्न थालेको छ। गर्मी र वर्षाको समयमा पर्यटक आगमन घटेको होम स्टेमा खेती सकिएपछि पर्यटकहरु आउन थालेका हुन्। भादाका थारु किसानहरुले सञ्चालन गरेको होम स्टेमा खेतीको बेला पाहुनालाई स्वागत गर्न नसकिने भएकाले खेती सकिएपछि जाडो मौसममा पर्यटक आउने गरेका छन्।

भादा गाउँ पर्यटन विकास तथा व्यवस्थापन समितिले खेती सकिएपछि गाउँलेहरु पर्यटकको स्वागतमा समय दिने गरेका छन्। समितिका अध्यक्ष लक्ष्मीनारायण चौधरीले मंसिर महिनासँगै पर्यटक आगमनमा बृद्धि भएको बताए। उनले पछिल्लो समयमा विदेशी पर्यटकहरु पनि बढेको बताए।
होम स्टे सञ्चालन गरेको केही वर्षसम्म आन्तरिक पर्यटकको घुइँचो रहेको भादामा सञ्चालनको गर्मीमा धुलाम्य र वर्षामा हिलाम्य बाटो हुने गरेकाले त्यस बेला आन्तरिक पर्यटक आगमन घटे पनि अहिले वृद्धि हुँदै गएको अध्यक्ष चौधरीले बताए। उनले दिनहुँ दुई तीन समूह आन्तरिक पर्यटक आउने गरेको बताए। त्यसैगरी, दैनिक एक दुई जना विदेशी पर्यटक आउने गरेको पनि उनले बताए।

विदेशी पर्यटकमा बढिजसो जर्मन, जापानी, अमेरिकी र फ्रान्सेली हुने गरेको भादा गाउँ पर्यटन विकास तथा व्यवस्थापन समितिले जनाएको छ। उनीहरुले थारु संस्कृति अध्ययन र रमाइलोका लागि आउने गरेको अध्यक्ष चौधरीले बताए। उनले आन्तरिक पर्यटकले पनि थारु संस्कृति, संस्कार, रहनसहन र चालचलनमा रमाउनका लागि आउने गरेको बताए।

पर्यटक आगमन नियमित नभएपनि भादाबासी पर्यटन विकासका लागि अझै उत्सुक हुँदै गएको भादा गाउँ पर्यटन विकास तथा व्यस्थापन समितिका कोषाध्यक्ष पदमबहादुर चौधरीले बताए। उनले होम स्टेले गर्दा गाउँ सफासुग्घर हुनुका साथै गाउँमा नयाँ सभ्यताको विकास भएकोले गाउँबासी उत्सुक रहेको बताए। उनले गाउ“मा सामाजिक, सांस्कृतिक र स्थानीयको व्यक्तित्वमा समेत विकास भएको बताए।

१७ घरबाट सुरु गरिएको होम स्टे पहिलो वर्ष एक घर र दोस्रो वर्ष एक घर थपी हाल १९ घरमा होम स्टे सञ्चालन गरिएको छ। पर्यटक आगमन अपेक्षाकृत नभए पनि गाउँलेहरु सन्तुष्ट रहेकाले होम स्टे सञ्चालन गर्ने घर संख्या वृद्धि हुँदै गएको कोषाध्यक्ष चौधरीले बताए।

होम स्टेमा पर्यटन आगमन बढ्नसँगै भादा गाउँ पर्यटन विकास तथा व्यवस्थापन समितिले पर्यटन प्रबर्द्धन तथा होम स्टे गाउँको प्रचारप्रसारका लागि होम स्टे पर्यटन महोत्सव २०६९ मनाउने तयारीमा जुटेको छ। उनले यसवर्ष गतवर्षको भन्दा सभ्यरुपमा मनाउने बताए। गतवर्ष समितिले तीन दिने होम स्टे महोत्सव आयोजना गरेको थियो।

महोत्सवमा कलाकारहरुको प्रस्तुतिका साथै थारु खानपान, नाचगान, होम स्टेमा दिने सुविधाहबारे जानकारीलगायतका आकर्षण रहने समितिले जनाएको छ। होम स्टेमा थारु परिवारसँगै बस्ने र उनीहरुसँगै अतिथि भएर बस्ने व्यवस्था गरिएको छ।

Leave a Reply

Your email address will not be published.