राष्ट्रपतिले भने- मेरो कुरालाई गम्भीरतापूर्वक लिनूस्

काठमाडौं- राष्ट्रपति रामवरण यादवले प्रमुख तीन दलका नेतालाई आफूले दोस्रो पटक दिएको समयसीमाभित्र राष्ट्रिय सहमतिको सरकार गठन गर्न निर्देशन दिएका छन्। दोस्रो पटक दिइएको समयसीमा सकिन दुई दिनअघि आज राष्ट्रपति निवास शीतलनिवासमा उनले दलहरूबीच सहमति नभए राम्रो प्रभाव नपर्ने भएकाले एनेकपा (माओवादी), नेपाली कांग्रेस, नेकपा (एमाले) र मधेसी मोर्चाका शीर्ष नेतालाई यस विषयलाई गम्भीरतापूर्वक लिन निर्देशन दिएका हुन्। 
सो अवसरमा राष्ट्रपति यादवले संविधानसभाको निर्वाचन र संवैधानिक निकायमा पदाधिकारी नियुक्तिका लागि सहमति जुटाउन आग्रह गर्दै सर्वोच्च अदालतमा न्यायाधीशको अभावका कारण अदालती काम कारबाहीमा ढिलाइ हुन नदिन संसदीय सुनुवाइबिना न्यायाधीश नियुक्तिसम्बन्धी अध्यादेश ल्याउनका लागि सहयोग पुर्‍याउन पनि सुझाव दिए।
राष्ट्रपतिसँगको भेटपछि पत्रकारसँग कुराकानी गर्दै नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालले जसरी भए पनि समयसीमाभित्रै सहमति जुटाउन राष्ट्रपति यादवले सुझाव दिनुभएको जानकारी दिए।
मधेसी मोर्चाका नेता तथा उपप्रधानमन्त्री विजयकुमार गच्छदारले तीन दलबीच अब बस्ने बैठकले एकीकृतरूपमा सहमति जुटाउने जानकारी राष्ट्रपतिलाई दिएको उल्लेख गरे। रासस

Leave a Reply

Your email address will not be published.