‘बढी एन्टिबायोटिले शिशु धेरै मोटा’

एएफपी– छ महिना मुनिका शिशुलाई एन्टिबायोटिक औषधी सेवन गराउँदा पछि ती शिशु धेरै मोटा हुनसक्ने एक अध्ययनले देखाएको छ। अमेरिकाको न्युयोर्क विश्वविद्यालयको स्कुल अफ मेडिसिनका लियोनार्डो ट्रासन्डका अनुसार अत्यधिक मोटाउनुको कारण अस्वस्थ खानेकुरा र शारीरिक व्यायाम नगर्नुलाई मान्ने गरिन्छ। उनको भनाइमा अहिले भइरहेका अनुसन्धानले भने अत्यधिक मोटाउनुका कारण निकै जटिल पाइएको छ। 
यससम्बन्धी अनुसन्धानमा संलग्न उनी भन्छन्, ‘हाम्रा आन्द्राका माइक्रोब्सले भोजनबाट क्यालोरी कसरी शोषण गर्ने निर्धारण गर्छन्। त्यसैगरी एन्टिबायोटिक्सको शोषण पनि माइक्रोब्सले नै निर्धारण गर्छन्। खासगरी शिशु अवस्थामा गरिने एन्टिबायोटिक्स सेवनले फाइदाजनक ब्याक्टेरिया मार्न सक्छ। ती ब्याक्टेरियाले शरीरमा शोषण हुने पोषक तŒवको मात्रा निर्धारण गर्छन्। ती ब्याक्टेरिया जीवित भए हामी अत्यधिक मोटाउँदैनौं।’
अध्ययनमा खासगरी बढ्दा बालबालिकामा एन्टिबायोटिक्स सेवनले हुनसक्ने खतराबारे उल्लेख गरेको छ। न्युयोर्क विश्वविद्यालय स्कुल अफ मेडिसिनको एक समूहको प्रारम्भिक अध्ययनले शिशु अवस्थामा एन्टिबायोटिक्स सेवनबाट हाम्रा शरीर भित्रका खर्बौं सुक्ष्म जैविक कोषमा परिवर्तन गर्ने देखाएको छ। यस्तो जैविक परिवर्तनका कारण शिशु पछि अत्यधिक मोटो हुने, पाचनशक्ति कमजोर हुने, दमलगायत स्थिति उत्पन्न हुनसक्छ। तर यस्तो भएको प्रत्यक्ष प्रमाण भने अहिलेसम्म फेला परेको छैन। यसअघि बाल्यावस्थामा एन्टिबायोटिक्स सेवन र शारीरिक वजन बीचको सम्बन्धबारे कुनै अध्ययन गरिएको थिएन।
अध्ययनकर्ताहरूले बेलायतको एभन क्षेत्रमा सन् १९९१–१९९२ बीच जन्मिएका ११ हजार पाँच सय ३२ बालबालिकालाई अध्ययनमा सामेल गरेका थिए। उनीहरूले ती बालबालिकाको शिशु अवस्थादेखि नै स्वास्थ्य र शारीरिक विकास सम्बन्धमा लामो अवधीसम्म अध्ययन गरेका थिए।
अध्ययनकर्ताका अनुसार जन्मिएको पहिलो पाँच महिनाभित्र एन्टिबायोटिक्स सेवन नगरेकाको तुलनामा एन्टिबायोटिक्स प्रयोग गरी उपचार गरिएका बालबालिकाको वजन बढी पाइएको थियो। एन्टिबायोटिक्स सेवन गरेका र नगरेका १०–२० महिनाका बालबालिकाको वजनमा खासै फरक पाइएन। तर ३८ महिना अर्थात तीन वर्ष पुगेकामध्ये एन्टिबायोटिक्स सेवन गरेका बालबालिका मोटो हुने सम्भावना २२ प्रतिशत बढी पाइयो।
६–१४ महिनाबीच एन्टिबायोटिक्स सेवन गरेका बालबालिकाको भने अत्यधिक मोटाउने सम्भावना भने तुलनात्मक रुपमा कम पाइएको अध्ययनले देखाएको छ। अध्ययनमा त्यस्ता बालबालिका पछि धेरै मोटाएको नपाइएको उल्लेख छ। यसले शिशुले एन्टिबायोटिक्स सेवन गरेको उमेर महŒवपूर्ण देखिएको छ। अध्ययनबाट शिशुले जन्मिए लगत्तै वा जति छिटो एन्टिबायोटिक्स सेवन गर्छ त्यति नै ऊ धेरै मोटो हुने सम्भावना देखिएको छ।
त्यस्तै १५–२३ महिनाबीच एन्टिबायोटिक्स सेवन गरेका नानीहरू सात वर्षसम्ममा अरु नानीभन्दा थोरै मात्र मोटो हुने पाइएको छ। त्यस्ता बालबालिका धेरै मोटाउने सम्भावना न्युन पाइएको अध्ययनकर्ता समूहले उल्लेख गरेको छ।
न्युयोर्क विश्वविद्यालय स्कुल अफ मेडिसिनका जान ब्लुस्टेन पनि अध्ययनमा संलग्न थिए। ब्लुस्टेनका अनुसार किसानहरूले वर्षौंदेखि मोटाघाटा गाईवस्तु उत्पादन गर्ने राम्रो उपायका रुपमा एन्टिबायोटिक्सको सफल प्रयोग गर्दै आएको तथ्य सान्दर्भिक छ। उनले एन्टिबायोटिक्स सेवनले मानिस खासगरी बालबालिकाको वजन बढ्ने तथ्य लामो अध्ययनबाट देखिएको बताए। तर अध्ययनको नतिजा प्रमाणित गर्नका लागि भने अझै थुप्रै अनुसन्धान गर्नु पर्नेसमेत उनले उल्लेख गरे।

Leave a Reply

Your email address will not be published.