भट्टराई नेतृत्वको सहमतीय सरकार एक प्रतिशत पनि सम्भावना छैन : कांग्रेस

काठमाडौं- नेपाली कांग्रेसले वर्तमान प्रधानमन्त्रीको नेतृत्वमा सहमतिको सरकार बन्ने कुनै सम्भावना नरहेको निष्कर्ष निकालेको छ। प्रधानमन्त्री बाबुराम भट्टराईको पक्षमा सहमतिको वातावरण बन्दै गएको भन्ने भनाइप्रति कांग्रेसले आपत्ति जनाएको छ। कांग्रेस पदाधिकारी एवम् उपलब्ध केन्द्रीय सदस्यहरुको आज सभापति सुशील कोइराला निवासमा बसेको बैठकले यस्तो निष्कर्ष निकालेको हो। “अहिले प्रधानमन्त्री भट्टराईको नेतृत्वमा सहमतिको सरकार बन्ने कुनै पनि सम्भावना छैन, सहमतिको सरकार बनाउने त्यो पनि भट्टराईको नेतृत्वमा त्यसको एक प्रतिशत पनि सम्भावना छैन,” रामशरण महतले भने।

केही दिनयता बाबुराम भट्टराईको नेतृत्वमा सहमतीय सरकार बन्ने वातावरण बन्दै गएको भन्ने भनाइ सार्वजनिक भइरहेका बेला काँग्रेसले यस्तो निचोड निकालेको हो। आजै बिहान सभापति कोइरालासँग एनेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष एवम् प्रधानमन्त्री डा बाबुराम भट्टराईसँग राजनीतिक सङ्कट निकासबारेमा छलफल भएको थियो।
कांग्रेसका तर्फबाट सहमतीय सरकारका लागि माओवादीको नेतृत्व स्वीकार्य नहुने धारणा राखेको नेताहरुले बताए। केन्द्रीय सदस्य महतले एनेकपा (माओवादी)का अध्यक्ष दाहाल र उपाध्यक्ष एवम् प्रधानमन्त्रीसँग पार्टी सभापतिले गर्नुभएको कुराकानीमा तुरुन्त राष्ट्रिय सहमतिको सरकार बन्नुपर्ने र त्यसमा कांग्रेसको दाबी यथावत रहने भनाइ राखेको बताए।
“बाबुरामकै पक्षमा समर्थन जुट्न लाग्यो भनेर अफवाह र भ्रम फैलाउने आपत्तिजनक अभिव्यक्ति माओवादीबाट आएको छ, त्यो भ्रम निवारण गर्न चाहन्छौं, भट्टराईकै नेतृत्वमा सहमतीय सरकार बन्ने कुनै सम्भावना छैन,” महतले भने।
सत्तारुढ गठबन्धन र एमाओवादीको बैठकमा भएका केही दिनयताका बैठकमा डा भट्टराईकै नेतृत्व भनेर रट लगाइराखिएकामा आपत्ति जनाउँदै डा महतले अध्यक्ष दाहालले काँग्रेसको नेतृत्व मागेको एक घन्टाभित्र काँग्रेसले उम्मेदवार दिने दाबी गरे।
उपसभापति रामचन्द्र पौडेलले पनि वर्तमान प्रधानमन्त्रीकै नेतृत्वमा सहमतीय सरकार बन्न नसक्ने बताउँदै राजनीतिक सङ्कट निकासका लागि छलफल भएको बताउनुभयो।
“राष्ट्रपतिले गर्नुभएको सहमतिको आह्वान सबै पार्टीलाई गर्नुभएको हो, यो कदम एउटा टुङ्गोमा पुग्छ,” उपसभापति पौडेलले भने।
अहिलेको राजनीतिक सङ्कट निकासका लागि निर्वाचन नै विकल्प भएको भन्दै काँग्रेसले निर्वाचन वैशाखमा नै गर्नुपर्नेमा जोड दिएको छ। त्यसका लागि सहमतीय सरकार गठन गर्नुपर्ने र वर्तमान सरकारले मार्गप्रशस्त गर्नुपर्ने कुरा कांग्रेसले दोहोर्‍याएको छ।
सो बैठकमा संवैधानिक निकायहरुमा देखिएको रिक्ततालगायत राजनीतिक सहमतिका लागि प्रयास गर्ने बारेमा छलफल भएको थियो।
केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले सहमतीय सरकार गठनका लागि भइरहेको प्रयास तथा काँग्रेसले लिने भावी रणनीतिबारेमा छलफल भएको बताए। “राजनीतिक एवं संवैधानिक सङ्कट निकासका लागि निर्वाचनमा जानुपर्छ, सहमतीय सरकार गठन गरी वैशाखमै निर्वाचन हुनुपर्छ,” केसीले भने। रासस

Leave a Reply

Your email address will not be published.