सुकौराकोटमा थारु राजाको इतिहास खोजिँदै

गजेन्द्र बोहरा, दाङ- करिब आठ सय वर्षअघि दाङमा राज्य चलाएर बसेका थारु राजा ‘दंगीशरण’को इतिहास खोतल्ने काममा राज्यले नसघाउँदा अलपत्र परेको छ। दाङको उरहरी गाविस ९ सुकौराकोटको डाँडामा कुनै बेला थारु राजाको दरवार रहेको किंदवन्दीअनुसार उनको दरवार रहेको भनिएको क्षेत्रमा पुरातत्व विभागले ३ पटक उत्खनन्समेत गरेको थियो।

उक्त क्षेत्रको संरक्षण तथा थारु राजा दंगीशरणको अस्तित्वको खोजी गर्ने उद्देश्यले यहाँका थारुहरुले सुकौराकोटमा दंगीशरण संग्राहलय बनाउने तयारी पनि गरेका छन्। त्यसलाई पुरात्व विभागले १० लाख र जिल्ला विकास समितिले १३ लाख रुपैंयाँ अनुदान दिएपनि उक्त रकमबाट संग्राहलय क्षेत्रमा पर्खालमात्रै बनेको छ। तर भवन तथा अन्य तयारीका लागि थुप्रै रकम लाग्ने भएकाले संग्राहलय अलपत्र परेको संग्राहलय निर्माण उपभोक्ता समितिका अध्यक्ष जनकुलाल चौधरीले बताए।

उनका अनसार गत वर्षको माघ महिनामा पुरात्व विभागले सुकौराकोटमा उत्खनन् गरेर दंगीशरण दरवारको बारेमा अनुसन्धान पनि थालेको थियो। त्यतिबेला उत्खनन्का क्रममा थारुहरुले प्रयोग गर्ने पुराना माटाका भाँडाहरु, घरेलु हतियारका रुपमा प्रयोग हुने धनुष, घर बनाउन प्रयोग गरिने इँटा(चार प्रकारका) फेला परेका थिए। ती सबलाई अनुसन्धानका लागि पुरातत्व विभागले लगेको छ।‘धेरै पुराना सामग्रीहरु पनि फेला परेका छन्’ चौधरीले भने ‘यसको मतलव यहाँ कुनै न कुनै बेला थारुको शासन थियो भन्ने केही हदसम्म पनि प्रमाणित भएको छ।’
उनका अनुसार त्यतिबेला थारुहरुले पूजा गर्ने माटाका घोंडा, घोंडाका जन्जिर तथा थारु महिलाहरुले घाँटीमा लगाउने मोतिका दानाहरुसमेत भेटिएका थिए। त्यस्तै त्यहाँ घरका कोठाहरु बनाइएको आकृतिसमेत फेला परेको थियो। त्यतिबेला थारु राजाले प्रयोग गर्नेगरेका केही पुराना सिक्काहरु स्थानीय थारुहरुले पनि संकलन गरेको उनले बताए। करिब डेढ विगाहा क्षेत्रफलमा बन्ने उक्त संग्राहलयका लागि उपभोक्ता समितिले एक करोड रुपैंयाँ माग गरेको छ। तर उक्त रकम र उनीहरुको योजना भने सरकारले स्वीकृत गरेको छैन।

कार्यक्रममा सहभागी अतिथिहरु थारु भेषभुषामा। तस्बिर : गजेन्द्र

सोही दरवार क्षेत्रको संरक्षण तथा सुकौराकोटलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नका लागि पहल गर्न थारु पत्रकार संघ दाङले सुकौरामा बृहत छलफल गरेको छ। छलफलमा सहभागीहरुले थारु जातिले पनि कुनै बेला शासनसत्ताको नेतृत्व गर्दै राज्य हाँक्नसमेत सक्षम थिए भन्ने प्रमाणित गर्नका लागि थारु राजा दंगीशरणको अस्तित्व खोजी हुनुपर्नेमा जोड दिएका थिए। कार्यक्रममा थारु मटहवा तथा भलमन्सा महासंघका अध्यक्ष डिल्लीबहादुर चौधरीले थारु जातिको नेतृत्व र सक्षम पहिचानलाई राज्यले उपेक्षा गर्दै गइरहेको बताए।
‘कुनै बेला थारुहरु पनि राज्य सञ्चालन गर्न र शासनसत्ताको नेतृत्व गर्न सक्षम थिए’ उनले भने ‘तर विस्तारै उनीहरुलाई रैति बनाइयो र अहिले उनीहरुको पहिचानसमेत मेटाइदै छ।’ कार्यक्रम थारु पत्रकार संघ दाङका अध्यक्ष सन्तोष दहितको अध्यक्षतामा भएको थियो। कार्यक्रमा सहभागी अतिथि तथा राजनीतिक दलका प्रतिनिधिलाई पनि थारु भेषभुषा लगाइदिएका थिए।

Leave a Reply

Your email address will not be published.