गरिखान खोज्दा मरिजानेहरू

डी. विनोद- सर्लाहीका आत्मराम रायको गएको जेठ २० गते संयुक्त अरब इमिरेट्स (युएई) मा मृत्यु भयो। वैदेशिक रोजगारीमा युएई पुगेका उनको मृत्युको कारण बुझ्न नपाई उनको शव नेपाल आइपुग्यो। दुई महिनापछिमात्र उनको शव आफन्तले पाएका थिए। उनका आफन्त विष्णु दयाल रामयादवले उनको मृत्युपछि विभागले दिने क्षतिपूर्ति उठाएका थिए। यादव भन्छन्, ‘मृत्युको यकिन कारण पत्ता लगाउन सकिएको छैन। उनको अकालमै ज्यान गयो।’

वैदेशिक रोजगारीमा पुगेर ज्यान गुमाउनेहरूको संख्या प्रत्येक वर्ष बढिरहेको छ। गत आर्थिक वर्षको तुलनामा यस वर्ष ज्यान गुमाउनेहरूको संख्या कम छैन। अनि, ज्यान गुमाउनेका तथ्य कारण पनि खुल्न सकेका छैनन्। धेरैजसो मृत्युका घटनालाई ‘सुतिरहेको अवस्था’ भन्ने शीर्षकमा राखिएका छन्। यसबारेमा नेपाल सरकारका आधिकारिक निकायहरू पनि प्रस्ट हुन सकेका छैनन्।
दार्चुला, घुसा–९ का देवेन्द्रसिंह धामीको पनि गएको जेठ २० गते नै मलेसियामा मृत्यु भएको थियो। उनको शव पनि दुई महिनापछिमात्र नेपाल आइपुग्यो। परिवारकी सदस्य शान्ति धामी भन्छिन्, ‘हामीले अरू केही सहयोग पाएनौं। नेपाल सरकारले दिने रकममात्र लिएका छौं।’
मुलुकमा रोजगारीको अवसर नपाएपछि वैदेशिक रोजगारीका लागि खाडी मुलुकलगायत विभिन्न देशमा पुगेका नेपालीले अकालमै ज्यान गुमाएका छन्। धेरै कमाउने र परिवारलाई सुखमा पाल्ने सपना बुनेर परदेश हानिएकाहरूको मृत्युको सत्यतथ्य छानबिनका लागि परिवारले अपिल गर्ने गुञ्जायस पनि छैन। गएको साउनमा कतारमा मृत्यु भएका जुलोपोखरी–१, रोल्पाका हरिबहादुर बस्नेतका आफन्तले उनको मृत्युबारे कारण खोज्न सकेनन्। ‘काठमाडौंमा आउन नै समस्या हुन्छ, मृत्युको कारण खोज्ने र क्षतिपूर्तिको अपिल गर्न कहाँ जाने, कसरी जाने भन्नेबारेमा त्यति ज्ञान भएन,’ मृतककी आफन्त रिम्काले भनिन्, ‘सररकारले दिने क्षतिपूर्तिमात्र पाइएको छ। अरू विषयमा खोजी गरिएको छैन।’
महिनामा ४५ हजारभन्दा बढी नेपाली श्रमशक्ति बाहिरिन्छन्। अनि, दैनिक तीनजनाभन्दा बढीको विदेशमै मृत्यु भइरहेको हुन्छ। आर्थिक वर्ष ०६९/७० को पहिलो साउन महिनामा मात्र ६५ जनाको मृत्यु भएको छ। वैदेशिक रोजगारीमा गएर मृत्युवरण गर्नेहरूको संख्या बढिरहेको छ। वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका अधिकारी नरेशबहादुर धमेना भन्छन्, ‘मृत्युको संख्या बढिरहेको पाएका छौं। यो आधिकारिक रूपमा आएको तथ्यांक हो। तर, आधिकारिक रूपमा नआएका यस्ता घटना प्रशस्त हुन सक्छन्।’
वैदेशिक रोजगार विभागको श्रम स्वीकृति लिएर र बिमा गरेर पुगेकाहरूको मृत्यु भएको तथ्यांक आउने गरेको छ। उनीहरूको शव झिकाएर घरसम्म पुर्‍याउने व्यवस्था पनि छ। ‘हामीसँग नआएको तथ्यांकका बारेमा सामान्य जानकारीमात्र हुन्छ। त्यसबारे यकिन कुरा भन्न सकिन्न,’ धमेनाले भने।
वैदेशिक रोजगारीमै गएर मृत्युवरण गर्नेहरूको कात्तिक मसान्तसम्मको तथ्यांक पनि कम छैन। आर्थिक वर्षको पहिलो चार महिनामा मात्र दुई सय ४५ जनाको मृत्यु भइसकेको छ। साउदी अरब, कतार, मलेसिया, युएई, इजरायल, कोरियालगायत मुलुकमा मृत्यु हुनेको संख्या ज्यादा देखिन्छ।
धमेनाका अनुसार मृत्युको खास कारणबारे खुल्न नसके पनि हत्या, आत्महत्या, स्वाभाविक मृत्यु र हृदयाघात प्रमुख कारण देखिएका छन्। बोर्डका अनुसार यस अवधिमा एक जनाको हत्या हुनुका साथै सुतिरहेको अवस्थामा ४५, हृदयाघातबाट आठ, प्राकृतिक कारणले ३४, आत्महत्याका कारण २३ र अन्य कारणले ७७ जनाको मृत्यु भएको थियो। बहराइनमा तीन, इराकमा एक, इजरायलमा दुई, कुवेतमा पाँच, लेवनानमा दुई, मलेसियामा ८५, कतारमा ४९, साउदी अरबमा ६६ र कोरियामा आठ जनाको मृत्यु भएको थियो। साउनमा मात्र यसरी भित्रिएका मृतकको परिवारले झन्डै एक करोड क्षतिपूर्ति लगिसकेको तथ्यांक बोर्डसँग छ।
यस आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा वैदेशिक रोजगारीका लागि दुई लाख ७६ हजार तीन जनाले मुलुक छाडिसकेका छन्। साउनमा ५९ हजार ५५ जना पुगेका थिए भने भदौ, असोज र कात्तिकमा क्रमशः ४४ हजार एक सय आठ, ६६ हजार नौ सय ८५ र ३७ हजार चार सय ५५ जनाले मुलुक छाडेको वैदेशिक रोजगार विभागले जनाएको छ।

कम्पनीले सहयोग गरेन

कोरियामा आत्महत्या गरेका तनहुँका राजकुमार गुरुङको परिवारलाई उनी कार्यरत रहेको कम्पनीले सहयोग गरेको छैन। उनी कार्यरत कोरियन कम्पनीले क्षतिपूर्ति र टिकट मार्फत पठाउनुपर्ने रकम नपठाएको उनकी श्रीमती धनमायाले बताएकी छन्। उनले कोरियास्थित नेपाली समाजलाई क्षतिपूर्ति दिलाउन अपिल गरेकी छन्। कम्पनीबाट पाउनुपर्नेे १२ लाख कोरियन वन र घर फर्कने बेलामा टिकटको लागि बिमा गरिएको पाँच लाख वन उनले पाएकी छैनन्।
कम्पनीले सहयोग नगरे पनि कोरियाबाट नेपालीहरूले उनलाई चार लाख रुपैयाँ सहयोग गरेका छन्। हिमालयन एफसी नेपाली समाज पोहाङ र ख्यङदोङ चर्च पोहाङ सिटीको पहलमा संकलित रकम धनमाया गुरुङलाई पठाइएको थियो।
यता कोरियाको कम्पनीमा सम्पर्क गर्दा उसले भने नेपाली दूतावासमा रकम पठाएको बताएको ख्यङदोङ चर्चका पास्टर ख्वावांग राग हा (जोन)लाई उद्धृत गर्दै हिमालयन नेपाली समाजका यादव रिजालले जानकारी दिएका छन्। कोरियाको पोहाङ क्षेत्रमा रहेका नेपालीहरू र केही संस्था र ख्यङदोङ चर्चको पहलमा सो सहयोग रकम संकलन गरिएका थियो।

शुक्रबार साभार

Leave a Reply

Your email address will not be published.