बाबुराम सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाउने एमाओवादी निर्णय

काठमाडौं- एकीकृत नेकपा (माओवादी)ले वर्तमान प्रधानमन्त्रीकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने निर्णय गरेको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा आज बसेको पार्टी पदाधिकारी तथा व्यूरो इन्चार्जहरूको बैठकले वर्तमान प्रधानमन्त्रीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन हुन नसकेमा भने सत्ता गठबन्धनभित्रैका जुनसुकै व्यक्तिलाई पनि अगाडि सार्न सकिने निष्कर्ष निकालेको छ।

‘हामी प्रमुख रुपमा वर्तमान सरकारलाई नै राष्ट्रिय सहमतिको स्वरुप दिन र महत्वपूर्ण मन्त्रालयहरूमा नेपाली कांग्रेस, नेकपा(एमाले)लगायत अरु दलहरूलाई सहभागी गराउनेमा प्रतिबद्ध छौं,’ बैठकपछि एमाओवादी प्रवक्ता अग्नि सापकोटाले सञ्चारकर्मीहरूलाई बताए।

सो पार्टीले संविधान जारी गर्ने विषयमा सहमति भए नेपाली कांग्रेसलाई सरकारको नेतृत्व दिन कुनै पनि आपत्ति नभएको र त्यसमा छलफल गर्न एमाओवादी तयार रहेको बताउँदै आएको छ।
बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले पछिल्ला दिनहरूमा राष्ट्रपति, विपक्षी दलहरूसँग भएको छलफलको बारेमा र आगामी दिनमा पार्टीले अवलम्बन गर्ने रणनीतिको विषयमा जानकारी गराएका थिए। उता प्रधानमन्त्री डा बाबुराम भट्टराईले पनि समग्र परिस्थितिको बारेमा पार्टी नेताहरूलाई जानकारी गराए।
बैठकमा मुख्य गरी राष्ट्रपतिको पछिल्लो वक्तव्य, दलहरूसँग जारी छलफल र पार्टीले अवलम्बन गर्ने रणनीतिको विषयमा छलफल गरिएको थियो। बैठकमा बोल्ने अधिकांश पार्टी नेताहरूले वर्तमान सरकारलाई नै राष्ट्रिय सहमतिको स्वरुप दिएर आगामी वैशाखमा संविधान सभाको नयाँ निर्वाचन गराउनुपर्ने धारणा राखेको बताइएको छ।

संविधानस भाबाट गठन भएको र वैधानिक हैसियत प्राप्त सरकारको विकल्पमा अरु सरकार गठन हुनु भनेको नेपालको अन्तरिम संविधानको भावना र मर्म विपरीत हुन जाने भन्दै वर्तमान सरकारकै निरन्तरता नै सबैभन्दा वैधानिक हुनेमा पार्टी नेताहरूले धारणा राखेको प्रवक्ता सापकोटाले जानकारी दिए। रासस

Leave a Reply

Your email address will not be published.