सामा चकेवा (फोटो फिचर)

‘सामा–चकेवा’ पर्व मुख्यतया चेलीबेटी र माइति पक्षका बीच रहेको अटूट श्रद्धा एवं प्रेमको प्रतीक हो। आज पनि नेपालको खासगरी पूर्वी तराइको गाउँगाउँमा महिलाहरू यस लोकपर्वमा सहभागी हुने गर्छन्। कलामर्मज्ञहरूद्वारा यसको कथासूत्रको रोचकता, आकर्षक दृश्यात्मकता, गीत–सङ्गीत–नृत्य र यसको पारम्परिक स्वरूपलाई अवलोकन गरी यसको अभिनय पक्षलाई पारम्परिक ‘लोकनृत्य’का रूपमा व्याख्या गरेको पाइन्छ। यसको बहुआयामी स्वरूप, गायन–विविधता, प्रकृतिप्रतिको अगाधप्रेम, माइति र चेली बीचको स्नेहपूर्णसम्बन्ध, चुगला (समाजविरोधी)प्रतिको सामूहिक–सङ्गठित विरोध, लोककल्याणको भावना, संस्कारगत–प्रशिक्षणजस्ता अनेक खण्डमा बाँडेर यस पर्वलाई विश्लेषण गर्न सकिन्छ। त्यसैले यस बहुआयामी लोकनृत्यमा मूलभूत स्वरूप एउटै भए पनि व्रतालु र प्रदर्शनकारी समूहको विचार, चिन्तन, श्रुतिपरम्परा र सामजिकताका आधारमा यस पर्वको विवेचन र व्याख्या फरक फरक हुन्छ। यही यस लोकनृत्यको निजीपन र विशेषता पनि हो।

ऐतिहासिक पृष्ठभूमि
खास गरी नेपालको पूर्वी तथा मध्य तराईमा छठ पर्वको एकदिन अगाडि र कतैकतै छठको भोलिपल्टदेखि मनाइने यो पर्व कहिलेदेखि मनाउन थालिएको हो ? यसको ऐतिहासिक पृष्ठभूमि स्पष्ट देखिएको छैन। यो पर्वका सम्बन्धमा संस्कृतिविद्हरूबीच पनि मतभिन्नता पाइन्छ। पद्मपुराण, स्कन्दपुराण र साम्बपुराण जस्ता विभिन्न पुराणमा यो पर्वको सम्बन्धमा चर्चा गरिएको पाइन्छ। ‘सामा–चकेवा’ लोक पर्वको शुभारम्भ द्वापर युगमा भगवान् कृष्णको समयदेखि नै भएको हो। यो पर्व भगवान् श्रीकृष्णकी छोरी साम्बा र छोरा साम्बको कथामा आधारित छ। यस कथाप्रसङ्ग–अनुसार भगवान् श्रीकृष्णकी पत्नी जाम्बवतीतर्फ १० भाइ छोरा र एउटी छोरी गरी एघारजना सन्तति थिए। ती मध्ये जेठा छोराको नाम साम्ब र छोरीको नाम साम्बा थियो। साम्बा जति सुशीला र चरित्रवती थिइन् त्यत्तिकै उनको सुन्दरताको बखान हुने गर्थ्यो। साम्बाको सौन्दर्यमा मोहित भई भगवान् श्रीकृष्णकै पुरी द्वारिकामा बसोबास गर्न ‘चूडक’ लट्ठ भएको थियो। तर उसको एकतर्फी प्रेम साम्बालाई थाहा नै थिएन। उता साम्बाको ‘चारुवाक’नामक युवकसित गान्धर्व विधिले विवाह सम्पन्न हुन्छ। त्यसपछि आफ्ना पतिको घरमा सानन्द बसोबास गर्न थाल्छिन्। साम्बालाई आफूले प्राप्त गर्न नसकेकाले प्रेमान्ध चूडक श्रीकृष्णको दरबारमा जाने र उनकी छोरी साम्बाको चरित्रबारे चियोचर्चा गर्न थाल्छ। वृन्दावनको दिव्य जङ्गलको बीचमा गोपेश्वर महादेवको मन्दिर थियो।

आफ्नो दाम्पत्य जीवनमा उतारचढाव नआओस् र दीर्घ सौभाग्य प्राप्ति होस् भन्ने उद्देश्यले उनी पति चारुवाकको आज्ञा लिई नित्य प्रति उक्त मन्दिरमा गई पूजा आराधना गर्दछिन्। उक्त पूजाअर्चनाको प्रभाव तथा भगवान् भोलेनाथको असीम अनुकम्पाले साम्बाका पति चारुवाकको स्वरूप देवतातुल्य मनोहर र दिव्य हुन पुग्छ र त्यसपछि उनी पति चारुवाकसँगै विभिन्न सुरम्य स्थलमा वनविहार पनि गर्न थाल्छिन्। तर यसै प्रसङ्गलाई जोड्दै ‘साम्बाले पतिको हत्या गरी परपुरूषसँग वृन्दावनमा विहार गर्दै गरेको’ कुरो गाँसेर चूडकले भगवान् श्रीकृष्णलाई भएनभएको उपाख्यान सुनाई पोल लगाउँछ। कुरो सुन्नासाथ सत्यताको निरूपण नै नगरी श्रीकृष्णले छोरी साम्बालाई पक्षी हुने शराप दिनुहुन्छ्र। चारुवाकले देख्दादेख्दै पत्नी पक्षी भएको दृश्य देखेर उनी रुँदै कराउँदै भगवान् श्रीकृष्णको शरणमा पुग्दछन् र बास्तबिकता बताउँदछन्। कृष्णलाई आफ्नो निणर्यप्रति पछुतो हुन्छ र चूडकलाई चुगलखोरी गरेवापत् देशनिकालाको सजाय हुन्छ। उता ससुरा कृष्णसँग आँफू पत्नीविना बाँच्न नसक्ने भन्दै चारुवाकले विलाप गर्दछन्। अनि भगवान् श्रीकृष्णले आफ्नो श्राप आँफै फिर्ता लिन नमिल्ने बताउनु हुन्छ। त्यसो भए पत्नी पक्षी नै रहने भएपछि आँफूलाई पनि पक्षी बनाइदिन ज्वाइँले अनुरोध गरेपछि भगवान् श्रीकृष्णले उनलाई पनि पक्षी नै बनाइदिनुभयो।

यसरी पक्षीका रूपमा साम्बाका दम्पती रहनलागे। बहिनीले श्राप प्राप्त गरेको र पक्षी भएको समाचार दाजु साम्बले प्राप्त गर्दछन्। उनी पनि निर्दोष बहिनीज्वाइँलाई पक्षीयोनीबाट मुक्त तुल्याउन पिता श्रीकृष्णसित अनुनय–विनय गर्दछन्। तर भगवान् श्रीकृष्णले राजधर्मको बाध्यता र विवशताका कारण उक्त शराप फिर्ता लिन नसक्ने बताउनुहुन्छ। अनि पितासित साम्बले बहिनीज्वाइँ मुक्त हुने उपाय बताउने आग्रह गर्दछन्। भगवान् श्रीकृष्णले समस्त ब्रज क्षेत्रका साध्वीहरूलाई साम्बाको पातिव्रत्य धर्म डगेको छैन भनी विश्वस्त तुल्याई ती सम्पूर्णले कार्तिक शुक्ल पञ्चमीदेखि कार्तिक शुक्ल पूर्णिमासम्म ११ दिन प्रत्येक दिन सायंकालमा गोपेश्वर महादेवको मन्दिर परिसरमा गीत र नृत्य गरी भगवान् भोलेनाथलाई प्रसन्न तुल्याएमा ती दम्पतीको पक्षीयोनीबाट छुट्कारा हुने उपाय बताउनुहुन्छ।

यसै उपायलाई अनुसरण गरी साम्ब महिलाहरूलाई सङ्गठित बनाउँदछन् र आँफूले पनि शिवको आराधनामा घनघोर तपस्या गर्दछन् ती सङ्गठित साध्वी स्त्रीहरूले शिवालयको परिसरमा साथै भगवान् श्रीकृष्णको दरबार जाने चौबाटोमा प्रत्येक साँझ गीत र नृत्य प्रस्तुत गर्दछन्। साम्ब र द्वारिका पुरीका समस्त साध्वी स्त्रीको आराधनाले शिव प्रसन्न हुनुहुन्छ र साम्बाका जोडीलाई पंक्षीयोनीबाट मुक्त बनाउनु हुन्छ। स्त्रीहरूको सङ्गठित प्रतिरोध, चेलीबेटी र माइतिबीचको अटूट प्रेम र घुसघुसे एवं पोल्याहा(चुगला)हरूलाई सजाय दिने सन्देश बोक्ने यही उत्सव हो–‘सामा–चकेवा’पर्व।

सांस्कृतिक परम्परा र विधान
आज पनि मिथिलाञ्चलका गाउँगाउँमा स्त्रीहरू ‘सामा–चकेबा’को अभिनय गर्छन्। यस पर्वमा यो र यसै कथानकसँग जोडिएका पात्रहरू शाम्बा(सामा), चकेवा(चारुवाक)का अतिरिक्त शाम्ब, सतभैया, खडरीच, चुगला(चूडक), वृन्दावन, चौकीदार, झांझी, कुकुर(कुत्ता) आदिको माटोको मूर्ति निर्माण गरी असाध्यै रोचक अभिनय गरिन्छ। दाजु र बहिनीबीचको आत्मीय प्रेमको प्रतीकको रूपमा मनाइने यो पर्वमा दिदीबहिनीले आफ्नो दाजुभाइको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दछन्। तराई-मधेसको लोकनाटकको झझल्को दिने यस पर्वका दुईवटा प्रमुख पात्र हुन्छन् सामा र चकेवा। सामा स्त्री पात्र हुन् भने चकेवा पुरुष पात्र।

त्यसैगरी समाजको खलपात्रको प्रतीकको रूपमा चुक्ली लगाउने अर्को पात्र ‘चुगला’ पनि हुन्छ। विभिन्न पात्रको प्रतीकको रूपमा बनाइएको माटोका मूर्तिलाई बाँसको टोकरीमा राखी कात्तिक शुक्ल पञ्चमीको साँझदेखि टोलछिमेकका दिदी बहिनीहरू गाउँको बाहिर खुला ठाउँमा एकभित्र भई सामा-चकेवासम्बन्धी गीतहरू गाउँछन् र अभिनय गर्दछन्। यस क्रममा समूहमा महिलाहरू डाला(ढाकी)मा मूर्तिहरू सजाउँदै कार्तिकको शुक्लपक्ष पञ्चमीको बेलुकाबाट शुरु गरी गाउँगाउँको दोबाटो, चौबाटो, चौक आदि स्थलमा भेला भई लोकगीत गाउँदै नृत्य गर्दछन्। सामा खेले चलली सखी सँग सहेली हो.., साम चके साम चके अइहो हे जोतला खेत में बैसिहो है.., चुगला करे चुगलपन बिलैया करे म्याउँऊं, चुगला के फांसी देंऊ जस्ता लोकगीत गाउँदै चुगलाको मूर्तिमा टाँसिएको दाह्री र जुँघालाई प्रत्येक दिन डढाउँदै त्यस चुगलाको प्रतिमालाई महिलाहरू कुटेपिटे झैं पनि गर्दछन्। गीतमा आफ्ना दाजुभाइको प्रशंसा तथा चुक्ली लगाउने भन्ने पात्रलाई गाली गरिएको हुन्छ। त्यसैगरी सामा-चकेवालाई शीत र दूबो खुवाइन्छ।

सामा-चकेवालाई शीत र दूबो खुवाइसकेपछि मूर्ति राखिएका टोकरीलाई बीचमा राखी त्यहाँ उपस्थित दिदीबहिनीहरू वृत्ताकारमा बस्दछन् र टोकरीलाई दाहिने हातले एकले अर्कालाई दिंदै बाँया हातले फेरि लिने गर्दछन्। दिने र फर्काउने यो क्रम नथाकेसम्म गीत गाउने र अभिनय गर्ने क्रम चलिरहन्छ। त्यसपछि असत्य, पाप र असामाजिक तत्वको प्रतीकको रूपमा रहेको चुक्ली लगाउने पात्रको जीउमा आगो लगाइन्छ। त्यसपछि दिदी-बहिनीहरू सामा-चकेवाको गीत गाउँदै आ-आफ्नो घर फर्कन्छन्। घर पुगेपछि सामा-चकेवाको टोकरीलाई आँगनमा राखी धानको बाला खुवाई रातभरि बाहिरै राखिन्छ। यो क्रम पञ्चमीदेखि चतुर्दशीको दिनसम्म चलिरहन्छ र पूर्णिमाका दिन यो लोकपर्वको विसर्जन गरिन्छ। पूर्णिमाका दिन बिहान मूर्तिलाई सफासुग्घर बनाई रङरोगन गरी विशेष किसिमले सजाइन्छ।

त्यसपछि किशोरीहरूले आँफूले गाउँगाउँ डुली अभिभावकवर्गबाट सङ्कलन गरेको रकम र अन्नादिको उपयोग गरी तैयार गरिएको प्रसाद दही, चिउरा, चिनी र मिठाईसहित विभिन्न परिकारको भोजन तैयार गर्दछन्। साँझ सर्वप्रथम मूर्तिहरूलाई भोजन गराइन्छ अनि त्यसपछि दिदी-बहिनीहरूले आआफ्ना दाजुभाइलाई मूर्तिकै जुठोस्वरूप त्यही भोजन प्रसादका रूपमा दिन्छन्। प्रसाद ग्रहण गरेपछि दाजुभाइले ती मूर्तिलाई आफ्नो घुँडामा राखी भाँच्छन्। त्यसबेला दाजुभाइले दिदीबहिनीलाई नगद, गहना, लुगा कपडा आदि उपहार दिन्छन्। अनि सामा, चकेवा र अन्य भाँचिएका मूर्तिहरूलाई गाउँनजीकैको खोला, पोखरी वा तलाउमा विसर्जित गरिन्छ, तर चुगलाको मुर्तिलाई भने फोहोर ठाउँमा (शौचालय क्षेत्र)मा फ्याल्ने गरिन्छ र यस पर्वको समापन गरिन्छ।

तस्बिर : गीता चौधरी थारु

साभार : विकिपिडिया

8 thoughts on “सामा चकेवा (फोटो फिचर)

  1. Tharu Ko sansakar Samachakhewa Dekhada Sarainai Khusilagiyo Jevaye pani hamile Aaphano sansakarJogaUnai parnehuncha Tyasaile Tharuwan Unity LaE mero Anurodha Chaki AaUnedina ma Pani Yesatai Tharu sansakar Ko jhalak dekhana paUna.

Leave a Reply

Your email address will not be published.