शीर्ष नेताबीच कुरा मिलेन

काठमाडौं- बजेटको गाँठो फुकाउँदै समग्र राजनीतिक विषयमा निकास खोज्न आज बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठकमा कुनै सहमति हुन सकेन। एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति सुशील कोइराला र नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालबीच सिंहदरबारमा बसेको बैठकमा कुनै प्रगति हुन नसकेको हो।

शीर्ष नेताहरूको आ–आफ्नै अडानका कारण राजनीतिक निकासका लागि गरिएको प्रयास पनि सार्थक हुन नसकेपछि छलफल यथास्थितिमै टुङ्गिएको हो। तीनैजना नेताहरूले बैठक जहीँको तहीँ रहेको भन्दै कुनै सहमति हुन नसकेको बताए।
बजेटको गाँठो फुकाएर अघि बढ्न अध्यक्ष दाहालले डाक्नुभएको बैठकमा बजेटमा मात्र छलफल नगरी समग्र राजनीतिक विषयमा छलफल गर्नुपर्छ भन्ने अडान कांग्रेस र एमालेले राखेपछि आइतबार साँझ तीन नेताबीच छलफल हुन सकेको थिएन। तर आज सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको बैठकमा अध्यक्ष दाहालले अहिले बजेटमा सहमति जुटाउन सके सकारात्मक सन्देश जान्छ भन्दै त्यससँगै अरू राजनीतिक विषयमा छलफल गर्न प्रस्ताव गर्नुभएको थियो।

तर कांग्रेस र एमालेका नेताहरूले भने बजेटमात्र नभई समग्र विषयमा सहमति जुटाएर अघि बढ्नुपर्ने अडान राख्दै त्यसका लागि सरकार बदलेर सहमतिका लागि अघि बढ्नुपर्ने प्रस्ताव गरेका थिए।

आ–आफ्नै अडानमा कुरा नमिलेपछि फेरि वार्ता गर्ने भन्दै तीन दलका प्रमुखहरू वार्तास्थलबाट बाहिरिएका थिए। बैठकबाट बाहिरिएपछि पत्रकारहरूसँग कुरा गर्दै एमाओवादीका अध्यक्ष दाहालले विभिन्न विषयमा छलफल भए पनि सहमति हुन नसकेको बताए।
बजेटमा मात्रै छलफल नगर्ने भनेर एमाले र काँग्रेसले भनेपछि हिजो आफूले डाकेको बैठक बस्न नसकेको र आज बैठकमा बजेटलगायत सबै विषयमा छलफल भएपनि सहमति हुन नसकेको अध्यक्ष दाहालको भनाइ थियो।
बजेट ल्याउने कुरामा सहमति हुन सकेमा त्यसले सकारात्मक सन्देश दिन्छ भनेर आफूले भने पनि कांग्रेस र एमालेले त्यसप्रति विमति जनाएको उनले बताए। ‘मैले बजेटमा सहमति गरौँ त्यसले सकारात्मक सन्देश दिन्छ, बजेट पार्टीहरूसँग सम्बन्धित विषय नभई आमजनतासँग सम्बन्धित कुरा भयो भनेकामा उहाँहरू सहमत हुनुभएन, मैले त्यसो भए असहमतिको बीचमा सहमित गरौँ न त, सरकारले बजेट ल्याउँछ तपाईंहरूको असहमति हुन्छ भने,’ अध्यक्ष दाहालले भने।
बजेटलगायतका विषयमा राजनीतिक निकास कहिले निस्कन्छ त भन्ने प्रश्नमा अध्यक्ष दाहालको थप कथन थियो- हलो अड्काएर गोरु चुट्ने काम गर्न हुँदैन।

‘छलफल चलिराख्या छ बजेट चाहिँ आउँछ, छलफल जारी गर्ने भन्ने कुरा भएको छ,’ अध्यक्ष दाहालले भने। सो बैठकमा सबै विषय खासगरी निर्वाचनमा जानको निम्ति आवश्यक विषयहरूमा पनि छलफल भएको थियो।

नेपाली कांग्रेसका सभापति सुशील कोइरालालेे अध्यादेशबाट बजेट ल्याउने कुरा लोकतन्त्रको भावना विपरीत हुन्छ भनेर बजेटबारे पार्टीले स्पष्ट धारणा राखेको बताउनुभयो। ‘समग्ररूपमा सरकारलगायतका विषयमा कुरा गरेर सबै कुरा टुङ्ग्याउँ, त्यसको लागि सरकारवालाले मार्ग प्रशस्त गर्नपर्छ,’ सभापति कोइरालाले भने। नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालले अहिलेको सङ्कटको बेलामा निकास दिन राजनीतिक दलहरू एकताबद्ध हुनुपर्छ भनेर लागे पनि त्यो एकता हुन नसकेकाले प्रतिपक्षीहरूले आन्दोलनको घोषणा गरेको बताउँदै छलफलमा केही कुरा पनि नमिलेको बताए।

‘प्रतिपक्षीको पहिलो कुरा भनेको सरकार बदल्ने नै हो, सरकार बदल्ने कुरामा तयार भएपछि सबै कुरामा सहमति बन्छ, त्यही सहमतिको आधारमा मुलुक अघि बढ्छ,’ अध्यक्ष खनालले भने। उनले मुलुकमा बजेट ल्याउने वा अन्य सवाल एकअर्कासँग अन्तर सम्बन्धित भएकाले समग्रमा छलफल गरी सहमति खोज्नुपर्छ अन्यथा दुर्भाग्यको सामान गर्नुपर्ने बताए। ‘बजेट सहमतिबाट ल्याउनुको विकल्प छैन, त्यो विशेषगरी प्रधानमन्त्रीको जिम्मेवारी हो, प्रधानमन्त्रीले के गर्दै हुनुहुन्छ हामी हेर्दैछौं,’ अध्यक्ष खनालले भने। बजेटबारे सोधिएको एक अर्को प्रश्नको जवाफमा अध्यक्ष खनालले राष्ट्रपतिले अहिलेको संविधानले जे भनिरहेको छ त्यो बमोजिम काम गर्नुपर्ने बताए। रासस

Leave a Reply

Your email address will not be published.