सर्वसत्तावाद शासनविरुद्धको आन्दोलन सफल भएरै छाड्छ : कोइराला

काठमाडौं- नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले एनेकपा माओवादीको सर्वसत्तावादी शासन लाद्ने प्रयत्नविरुद्ध कांग्रेस उत्रिएको बताउँदै त्यसविरुद्धको आन्दोलनमा सफल भएरै छाड्ने दृढता व्यक्त गरेका छन्। डर, धाक, धम्की र सर्वससत्तावादबाट मुलुकलाई मुक्त गरेर देशमा दीगो शान्ति र स्थायित्व ल्याउनुपर्नेमा सभापति कोइरालाले जोड दिए। नेपाल तामाङ सङ्घ काठमाडौं सम्पर्क समितिले आज राजधानीमा आयोजना गरेको शुभाकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सभापति कोइरालाले कांग्रेस सधैं सङ्घीयताको पक्षपाति भएको बताए।
उनले कांग्रेस नेता गिरिजाप्रसाद कोइरालाले नै सङ्घीयताको पक्षमा हस्ताक्षर गरको दृष्टान्त प्रस्तुत गर्दै एनेकपा माओवादीले कांग्रेस सङ्घीयताविरोधी भनेर दुष्प्रचार गरेको आरोप लगाए। ‘२०६२/०६३ सालको जनआन्दोलनपछि सबै वर्ग र क्षेत्रका जनताको हक अधिकार तथा पहिचानबारे जागरण आएको बताउँदै उक्त आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्नु कांग्रेसको जिम्मेवारी हो,’ सभापति कोइरालाले भने।
सो अवसरमा केन्द्रीय सदस्य गगन थापाले कांग्रेस सरकारको लागि नभई लोकतन्त्रको स्थायित्व र निर्वाचनको सुनिश्चितताको लागि आन्दोलनमा उत्रिएको बताउँदै प्रधानमन्त्री र एनेकपा माओवादीका अध्यक्ष सहमतीय राजनीतिप्रति सम्वेदनशील हुन नसकेको आरोप लगाए।
‘आफू प्रधानमन्त्रीको कुर्सीमा निरन्तरता रहन पाइन्छ भने बाबुराम भट्टराई देश बेच्न पनि तयार हुनुहन्छ र एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल त्यसमा साक्षी बस्न तयार हुनुहन्छ,’ केन्द्रीय सदस्य थापाले भने, ‘सरकार संसद र सडकमा रहेर सत्ता कब्जा गर्ने एनेकपा माओवादीको घोषित नीति नै भएकोले त्यसमा अन्य दल सर्तक हुनैपर्छ।’

काठमाडौं कांग्रेसका सभापति भीमसेनदास प्रधानले मधेश आन्दोलनपछि गिरिजाप्रसाद कोइरालाले नै हस्ताक्षर गरेर सङ्घीयता स्थापित भएको हो भन्दै वर्तमान प्रधानमन्त्रीलाई विस्थापित गर्न नसके मुलुकले नराम्रो नियति भोग्नुपर्ने खतरा रहने बताए।

पूर्व सभासद् तीर्थमान डङ्गोलले अहिले तामाङ, मगर, नेवारलगायतका जातजातिको पहिचानभन्दा पनि लोकतन्त्रको पहिचान जोगाउनु पर्ने महत्वपूर्ण दायित्व रहेको भन्दै प्रतिपक्षीहरुको संयुक्त आन्दोलन लोकतन्त्रको रक्षाको आन्दोलन भएको बताए। रासस

Leave a Reply

Your email address will not be published.