गृहसचिवद्वारा प्रजिअलाई निर्देशन

सिन्धुपाल्चोक- गृहसचिव नवीनकुमार घिमिरेले जबसम्म जनताले शान्तिसुरक्षा र न्याय पाएको अनुभूत गर्न सक्दैन तबसम्म सुशासन छ भन्न नसकिने बताएका छन्। गृहसचिव घिमिरेल सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयको नवनिर्मित भवनको चौतारामा आज उद्‍घाटन गर्दै प्रमुख जिल्ला अधिकारी सरकारको प्रतिनिधि भएकाले पारदर्शी भएर छिटोछरितो ढङ्गले जनताको काम गर्न निर्देशन दिए। 
स्थानीय निकायको भ्रष्टाचार कहालिलाग्दो भएको र अख्तियारको अधिकार पाएर पनि प्रमुख जिल्ला अधिकारीले टुलुटुलु हेरर बसेको भन्दै उहाँले यसबाट आफूलाई ग्लानि महसुस भएको बताए।
नवनिर्मित भवन ठाउँठाउँ चिराचिरा परी पानी चुहिने अवस्था भएकोप्रति सञ्चारकर्मीले राखेको जिज्ञासामा सचिव घिमिरेले उद‍्‍घाटन हुँदैमा शतप्रतिशत राम्रो छ भन्न नमिल्ने र गुणस्तरहीन देखिए दोषीमाथि कारबाही गर्ने दृढता पनि व्यक्त गरे। प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद पोखरेलले पुरानो भवनबाट काम गर्दा कर्मचारी र सेवाग्राहीलाई असजिलो परिरहेको स्मरण गराए।
विसं १९६३ मा निर्मित ठाउँठाउँमा काठको टेको दिएर अड्याएको पुरानो भवनबाट काम हुँदैआएको र कार्यालयको कागजपत्र पनि मुसाले खाएर समस्या आएकामा गत वर्षदेखि नयाँ भवनबाट काम थालिएको हो।
पन्ध्र कोठाको पक्की भवन, एक हल, शौचालय, ग्यारेज तथा प्रतीक्षालयसहितको नवनिर्मित दुईतले भवन गृह मन्त्रालयको रु तीन करोड २५ लाख ८८ हजारको लगानीमा निर्माण गरिएको हो। रासस

Leave a Reply

Your email address will not be published.