टेलिकमको वाइम्याक्स इन्टरनेट सेवा

काठमाडौं- नेपाल टेलिकमले काठमाडौँ उपत्यकामा द्रुत गतिको ब्रोडब्यान्ड वाइम्याक्स इन्टरनेट सेवा यही कात्तिक २७ गतेदेखि सञ्चालन गर्न लागेको छ। टेलिकमका अनुसार वाइम्याक्स सेवा प्रथम चरणमा उपत्यकाका व्यापारिक प्रतिष्ठान, अस्पताल, शैक्षिक संस्था, वित्तीय संस्था, कुटनीतिक नियोग, पर्यटन व्यावसायी, सरकारी, अर्ध सरकारी र गैर सरकारी निकायलगायतका सङ्घसंस्थालाई वितरण गरिने छ।

वाइम्याक्स नेपालमा उपलब्ध इन्टरनेट सेवामध्ये सबैभन्दा उच्च गतिको इन्टरनेट सेवा रहेको टेलिकमले दाबी गरेको छ। टेलिकमद्वारा आज जारी विज्ञप्तिमा वाइम्याक्स सेवाबाट कम्तीमा २५६ किलोविट प्रतिसेकेन्डका दरले डाटा ट्रान्सफर गर्न सकिने जनाइएको छ। युएसबी मोडेम मार्फत् डेस्कटप, ल्यापटपमा इन्टरनेट चलाउन सकिने छ।

यो सेवालाई दोस्रो चरणमा पोखरा र भैरहवा तथा तेस्रो चरणमा देशका अन्य भागमा सेवा प्रदान गरी एक वर्षभित्रै नेपालभर यो सेवा उपलब्ध हुने टेलिकमले जनाएको छ। यो सेवाअन्तर्गत देशभर दुई लाख लाइन वितरण गर्ने बताइएको छ। रासस

Leave a Reply

Your email address will not be published.