दुई रङका सिलिन्डर बजारमा नल्याए कारबाही

काठमाडौं- नेपाल आयल निगमले खाना पकाउने ग्यास (एलपी ग्यास) का सिलिन्डर यही मङ्सिर १ गतेदेखि दुई रङमा बजारमा नल्याउने ग्यास व्यावसायीमाथि कारबाही हुने बताइएको छ। निगमले मङ्सिर १ गतेदेखि घरघरमा प्रयोग गर्ने सिलिन्डर रातो र होटल, उद्योगधन्दाहरुमा प्रयोग गरिने सिलिन्डर नीलो रङको हुनुपर्ने निर्णय गरिसकेको निगमका निमित्त कार्यकारी निर्देशक सुरेशकुमार अग्रवालले जानकारी दिए। 
उपभोक्ता अधिकार रक्षाका लागि उपभोक्ता सञ्जालद्वारा आज यहाँ आयोजित खाना पकाउने ग्यासको रङ वर्गीकरण र वितरणसम्बन्धी अन्तरक्रियामा उनले व्यावसायीहरुले प्रयोग गर्ने नीलो रङको सिलिन्डर घरघरमा प्रयोग नगर्न र घरघरमा प्रयोग गरिने रातो रङको सिलिन्डर व्यावसायीहरुले प्रयोग नगर्नसमेत आग्रह गरे।
उनले अन्तर्राष्ट्रिय बजार मूल्य, अमेरिकी मुद्राको विनिमयदर र स्थानीय बजारका आधारमा ग्यासको मूल्य निर्धारण हुने गरेको बताउनुभयो। निगमले हाल ग्यासमा प्रत्येक महिना करिब रु ३१ करोड ५० लाख घाटा व्यहोर्नुपरेको बताइएको छ।

नापतौल विभागका महानिर्देशक रामआधार साहले दुई रङको ग्यास सिलिन्डरको प्रयोगबाट नै उपभोक्ता र राज्यको हित हुने बताउँदै बजारमा समयसापेक्ष नियमन गर्ने प्रतिबद्धता व्यक्त गरे। एलपी ग्यास उद्योग सङ्घका धर्म बर्तोलाले एउटै रङको सिलिन्डर आवश्यक छ भन्दै उपभोक्तालाई एउटै दरमा ग्यास बिक्री गरिनुपर्ने बताउनुभयो। उनले सरकारले पर्याप्त गृहकार्य गरेर मात्र दुई रङको सिलिन्डर लागू गर्दा राम्रो हुनेछ भने।
सञ्जालका संयोजक प्रेमलाल महर्जनले नेपाल गुणस्तर परिषद्बाट प्रमाणीकरण नगरी दुई रङको ग्यास सिलिन्डर प्रयोगमा ल्याउन नसक्ने प्राविधिक समस्या रहेको छ भन्दै कार्यान्वयनका लागि कुनै किसिमको प्रष्ट नीति नियम तयार नभएको बताए। रासस

Leave a Reply

Your email address will not be published.