स्रोत र साधनको दुरूपयोग नगर्न कार्यालय प्रमुखलाई निर्देशन

विराटनगर- पूर्वाञ्चल क्षेत्रीय प्रशासक जनार्दन नेपालले नेपाल सरकारबाट प्राप्त स्रोत र साधनको दुरूपयोग नगर्न कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका छन्। क्षेत्रीय प्रशासन कार्यालयद्वारा आज जिल्ला प्रशासन कार्यालयमा गरिएको क्षेत्रीय कार्यालय प्रमुखहरूसँगको छलफल कार्यक्रममा उनले यस्तो निर्देशन दिएका हुन्। 
क्षेत्रीय प्रशासक नेपालले सरकारले विकास निर्माण तथा सेवामा अर्बौं रुपैयाँ लगानी गरेपनि त्यस अनुरूपको प्रभावकारी काम नभएको र जनताको सरकारी कार्यशैलीप्रति गुनासो बढेको बताए।
जनताको कामलाई छिटो–छरितो र इमान्दारीपूर्वक पूरा गर्नुपर्ने उल्लेख गर्दै उनले क्षेत्रीय प्रमुखहरूले आफ्ना मातहतका निकाय तथा कर्मचारीलाई जिम्मेवारीसहित काममा लगाउन निर्देशन दिए।
सो अवसरमा मोरङका प्रमुख जिल्ला अधिकारी तारानाथ गौतमले सरकारी कार्यालयप्रति गुनासो बढेकाले अनुगमन गरिने जानकारी दिए। रासस क्षेत्रीय प्रमुख सुरेश झाले स्रोत र साधनको अभाव हुँदाहुँदै राससले प्रभावकारी एवम् गुणस्तरीय समाचार सम्प्रेषण गरिरहेको बताए।
छलफलमा विराटनगरमा रहेका पूर्वाञ्चल क्षेत्रीय कार्यालयका प्रमुखहरूले आ–आफ्नो कार्यालयको विवरण प्रस्तुत गर्दै बजेट समयमा नआउने, स्रोतसाधन र कर्मचारी अभाव रहेको उल्लेख गरेका थिए। रासस

Leave a Reply

Your email address will not be published.