‘नेपाली फिल्ममा खेल्ने इच्छा छ’

रुपन्देहीको पश्चिम अमुवामा जन्मिएकी विज्जु खवास मोडलिङ क्षेत्रबाट अभिनय यात्रामा लागेको ती वर्ष पुग्यो। सीताराम चौधरीको ‘जवानीया तहल्का मच्चादेहल’ एल्बमको ‘हंगामा हंगामा’ बोलको गीतबाट मोडलिङ क्यारियर सुरु गरेकी खवास अहिले रुपन्देहीकै पहिलो थारु भाषाको चलचित्र ‘तोहरीक हम भुला न सक्ली’ की मुख्य नायिका बनेकी छन्। सावन मर्चहा, हेमराज कठरिया, अनिल दंगोया र कमल ढुगांनाको संयुक्त निर्देशनमा बनेको यो चलचित्रमा खवास मुख्य भूमिकामा छिन्।

चलचित्रमा लक्की दीपक, श्रीनिवास चौधरी, चिरन बराललगायतले अभिनय गरेका छन्। धनि र गरिबबीचको यथार्थ प्रेम कथामा आधारित चलचित्र रहेको निर्माणकर्ताको दाबी छ। यिनै नायिका विज्जु खवाससँग थारुवानकी कमला चौधरीले गरेकी कुराकानी :

तपाईँको कलाकारिताको यात्रा कसरी सुरु भयो?
नाच्न गाउने सानैदेखिको सौख थियो। गाउँघरमा कहीँ कतै कार्यक्रम हुँदा हेर्न जान्थे। साथीहरुसँग नाचेर रमाइलो गर्थे। कलाकारिता मेरो सानैदेखिको रुचि हो। स्कुलमा पनि कार्यक्रममा भाग लिन्थे। यही क्रममा मेरो मोडलिङ यात्रा विस्तार हुँदै गयो। रुपन्देहीकै एउटा ‘जवानीया तहल्का मच्चादेहल’ एल्बममा मोडलिङ गर्ने अवसर पाएँ। त्यहीँबाट मेरो अभिनय यात्रा सुरु भयो।

कलाकारितामा लाग्नुको खास कारण?
बाल्यकालदेखिकै रुचि थियो। र, मेरो सपना पनि थियो थारु समुदायबाट नायिका भएर आफ्नो कला प्रस्तुत गर्ने। कलाकारितामा हाम्रो समुदायको उपस्थिति निकै कम छ। म अभिनय क्षेत्रबाटै आफ्नो भविष्य बनाउन सक्छु भन्ने लागेर यो क्षेत्रमा लागेको हुँ। आउँदा दिनमा पनि अवसर पाएको खण्डमा आफ्नो कला हरेक क्षेत्रमा देखाउने साहस छ। हेरौं पछि के हुन्छ।

प्ररेणाको स्रोत?
सानैदेखि स्कुलमा हुने कार्यक्रममा भाग लिन्थे। मैले त्यतिखेर नृत्य गर्थे। कयौंपटक म प्रथप भएर पुरस्कार पनि पाएको छु। मैले स्कुलमा पढ्दा नृत्य बढी नै गरे। गुरुहरुले राम्रो छ भन्नुहुन्थ्यो। बेला बेलामा मलाई गुरु र साथीहरुले हौसला पनि दिनु हुन्थ्यो। तिमी पछि गएर एउटा राम्रो कलाकार बन्छौं भनेर गुरुहरुले भन्नुहुन्थ्यो। घरबाट पनि परिवारले सपोर्ट गर्नु भयो। गुरुहरुकै सुझाव र हौसला नै मेरो प्रेरणाका स्रोत हो।

तपाईँले अभिनय गर्नुभएको तोहरिका हम भुला न सक्ली’ चलचित्र कस्तो छ?
यो फिल्म रुपन्देहीकै सबैभन्दा पहिलो थारु कथानक चलचित्र हो। थारु भाषामै निर्मित यो फिल्म एक पारिवारिक तथा युवायुवतीबीचको प्रेम कथामा आधारित छ।

तपाईँको भूमिकाले सामाजमा के सन्देश दिन्छ?
यस फिल्ममा म प्रमुख पात्रको रुपमा अभिनय गर्दैछु। जुन नायिकाले एक युवकसँग प्रेम गरिसकेको अवस्थामा परिवारले अस्विकार गरेको छ। मैले प्रेम गर्ने केटा गरिब भएकाले परिवारले स्वीकार नगरेको कथावस्तु फिल्ममा देखाइएको छ। प्रेम भनेको जिन्दगी हो। आमा-बुबा घर-परिवार सबैसँग माया साटासाट गरिन्छ। तर यस फिल्ममा युवायुवतीबीचको प्रेमलाई प्रस्तुत गरिएको छ। जुन केटा पक्ष गरिब हुदाँ केटीको परिवारले उसको प्रेम सम्बन्ध स्वीकार गरेको छैन।

फिल्मबाट कतिको आशा गर्नुभएको छ?
रुपन्देहीकै पहिलो थारु चलचित्र भएको र थारु भाषामै निर्मित भएकाले पनि दर्शकले हेरेर माया गरिदिनुहुन्छ भन्ने अपेक्षा छ। यहाँको पर्यटकीय वातावरणलाई पनि यसमा राखिएकाले पनि दर्शकलाई हेर्न आग्रह छ।

दर्शकले यो चलचित्र के का लागि हेर्ने?
आफ्नै भाषामा बनेकाले र थारु कलाकारको भूमिकासमेत रहेकाले थारु दर्शकलगायत अन्यलाई पनि एकपटक हेरिदिन आग्रह गर्छु। रुपन्देहीका पर्यटकीय स्थलमा चलचित्र निर्माण गरिएकाले पनि सबैलाई हेरेर सुझाव दिनुहुन अनुरोध छ।

नेपाली चलचित्र उद्योगबाट अफर आयो भने खेल्नुहुन्छ?
अवसर पाए अवश्‍य खेल्नेछु।

कलाकारितामा थारु समुदायको उपस्थिति कस्तो देख्नुभएको छ?
अँ… छ, पहिलाको तुलनामा अहिले धेरै नै छ। तर अझै पनि हामी थारु भाषाको गीत र चलचित्रमा मात्रै सिमित भएको देखिन्छ। ठूलो पर्दामा अझै पनि सहभागिता बढेको छैन। त्यसलाई बढाउनु जरुरी छ।

अभिनय गर्दा कस्ता अप्ठ्यारा भोग्नुभो?
सुरुमा त केही थाहा थिएन। पछि अभिनय गर्दै जादाँ सिक्दै गएँ। अहिले पनि सिक्दैछु। गाह्रो त एकदम गाह्रो भएको हो।

अभिनय रहर हो कि पेसा?
सुरुवात त रहर नै थियो अहिलेचाँहि पेसा बनेको छ।

भावी दिनको योजना के छ?
कलाकारितालाई निरन्तरता दिने अवसर पाएको खण्डामा नेपाली तथा बलिउडमा पनि छिर्ने प्रयास गर्नेछु।

अभिनय क्षेत्रमा आउन चाहनेलाई के सुझाव दिनुहुन्छ?
रुचि हुनेहरु लाग्नुभए हुन्छ। रुचि नै नभएकालाई जबरजस्ती आउन म आग्रह गर्दिन। यदि यक्ष क्षेत्रमा लाग्दा पारिवारिक समस्या आउँछ भने परिवारलाई मनाउनुस्। भन्नुपर्दा तपाइँको जुन कार्यमा रुचि छ, त्यसैलाई लिएर अगाडि बढ्नुस्। जीवनमा अवश्‍य सफल भइन्छ।

थप तस्बिर हेर्न यहाँ क्लिक गर्नुस् :

Leave a Reply

Your email address will not be published.