चार शक्तिको बैठक निष्कर्षविहीन

ललितपुर- विद्यमान राजनीतिक गतिरोध अन्त्य गर्ने विषयमा आज पनि चार राजनीतिक शक्तिको शीर्ष नेताहरुको बैठक बसे पनि कुनै निर्णय हुन सकेन। ललितपुरको सुनाकोठी (बाङ्गेधारा)स्थित एक गैरआवासीय नेपालीको घरमा भएको सो बैठकमा आगामी वैशाखमा संविधान सभा वा व्यवस्थापिका–संसद्को निर्वाचन गर्ने भन्नेमा सबैजसो नेताहरुको समान मत भए पनि राष्ट्रिय सहमतिकै विषयमा कुनै सहमति हुन सकेन।

बैठकमा सहभागी एनेकपा (माओवादी) का नेता तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले निकासका बारेमा सबै कोणबाट छलफल भएको र नेताहरुबीच अनौपचारिक कुराकानीपछि पुनः औपचारिक बैठक बस्ने समझदारी भएको बताए।

उनले आगामी वैशाखमा नयाँ निर्वाचनमा गर्नेतिरै बैठक केन्द्रित भएको जनाउँदै त्यसका लागि आवश्यक पर्ने संविधान संशोधनका विधि र प्रक्रियाबारे छलफल भएको जानकारी दिए।
नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले विगतमा भएको पाँच बुँदे सहमतिअनुसार आफ्नो पार्टीको नेतृत्वमा निर्वाचनका लागि सरकार गठन गर्नुपर्ने प्रस्ताव गरिएको र त्यसमा एमाओवादीले छलफल गर्न सकिने जनाएको बताए। उनले नयाँ निर्वाचनमा जाँदा प्रत्यक्षतर्फ २४० सिटको निर्वाचन गर्नेमा भने अनौपचारिकरुपमा सहमति भएको बताए।

सत्तारुढ गठबन्धनमा संलग्न दलले यही सरकारको नेतृत्वमा निर्वाचनमा जानुपर्ने र विपक्षीहरुले राष्ट्रिय सहमतिको सरकार गठन हुनुपर्ने प्रस्ताव राखेको सो बैठकमा प्रधानमन्त्री बाबुराम भट्टराईले दलहरुको सहमति भएमा आफू बाधक नबन्ने स्पष्ट पार्नुभएको एमालेका नेता भीम रावलले जानकारी दिए।

नेता रावलले बैठक बसिरहने, कुनै निर्णय वा लिखत नहुने अनि मुलुकको सङ्कट बढिरहने अवस्था आएकामा एमालेले सत्तारुढ दललाई गम्भीर हुन आग्रह गरेको जानकारी दिए। उनले विगतमा सहमतिका लागि एमालेका दुईवटा प्रधानमन्त्रीले राजीनामा गरेको स्मरण गराउँदै यही सरकारले बजेट ल्याएमा मान्य नहुने अडान राखे। रावलले भने, ‘हामीले संसद् भएकै बेलामा बजेट ल्याउँदा उहाँहरुले अवरोध गर्नुभयो, अहिले संसद् पनि नभएको र सहमति पनि नभएको बेलामा यो सरकारले पूर्ण बजेट ल्याउन हुँदैन भन्ने कुरा राख्यौं।’ रासस

Leave a Reply

Your email address will not be published.