प्रदेश ७ मा थारु सांसदले थारु भाषामै लिए शपथ

लखन चौधरी/धनगढी।
प्रदेश नं. ७ का प्रदेश सांसदहरुले आज (आइतवार) शपथ ग्रहण लिएका छन् । प्रदेश प्रमुख मोहनराज मल्लले ज्येष्ट सांसद दिब्यश्वरी शाहलाई सपथ ग्रहण गराएपछि बाँकी सांसदहरुलाई सांसद शाहले शपथ ग्रहण गराएकी हुन् ।

प्रदेश प्रमुख मोहनराज मल्लले धनगढीको उत्तरबेहडीस्थित प्रदेश सचिवालयमा पदभार ग्रहण कार्यक्रम भएको थियो भने सांसदहरुको शपथ ग्रहण कार्यक्रम धनगढीको मेनरोडस्थित जिल्ला समन्वय समितिको सभाहलमा भएको थियो ।

शपथग्रहण कार्यक्रममा ५३ जना सांसदमध्ये ५२ जना सांसद उपस्थित भएका थिए । शपथग्रहण कार्यक्रममा उपस्थित नहुने सांसदमा नेपाली काँग्रेस डोटी बाट निर्वाचित सांसद भरत खड्काले लिन बाँकी छ ।

यसैबीच आठ जना थारु सांसदहरुले आफ्नै मातृभाषा ‘थारु भाषा’ मा सपथ लिएका छन् । सांसद वीरमान चौधरी, नेपालु चौधरी, कृष्णबहादुर चौधरी, कुलवीर चौधरी, बिनिता चौधरी, श्यामलाल राना, मालामति राना, चुनकुमारी चौधरीले आफुहरु आफ्नै मातृ भाषामा सपथ लिएको जानकारी दिए ।

प्रदेश प्रमुख मल्लको शनिबार हवाइमार्गबाट धनगढी आउने कार्यक्रम रहेको भएपनि प्रतिकूल मौसमका कारण उडान हुन नसकेपछि उनी स्थलमार्ग हुँदै आज आइतबार धनगढी आएका थिए ।

ढिला गरी धनगढी आएका प्रदेश प्रमुख मल्लले दिउँसो अढाई बजे आफ्नो पदभार ग्रहण गरेका थिए भने तीनबजे ज्येष्ट सांसद शाहलाई शपथग्रहण गराएका थिए ।

पदभार ग्रहण गर्दै प्रमुख मल्लले संविधानले दिएको अधिकारलाई प्रयोग गर्दै ७ नम्बर प्रदेशको विकासनिर्माणका दत्तचित्त भएर लाग्ने बताए । उनले भने –सरकारले आफूलाई भरोसा गरी प्रदेश प्रमुखको जिम्मेवारी दिएकोले पदीय मर्यादामा रही आफ्नो जिम्मेवारी बहन गर्नेछु ।’
त्यस्तै उनले आफु संविधानको संरक्षक, मुख्यमन्त्रीको प्रमुख सल्लाहकारको भूमिका पनि निर्वाह गर्ने बताए ।

Leave a Reply

Your email address will not be published.