छ महिना बाँदर धपाउँदैमा समय बित्छ

भोजेन्द्र बस्नेत, सोलुखुम्बु- भिर र जङ्गलको नजिक रहेको बारीमा लगाइएको बाली जोगाउनका लागि बालबालिका बिहान उज्यालो भएदेखी साँझसम्म बारीमै बस्छन्। “गाउँभरका साथीभाइ जम्मा हुन्छौँ, बारीमै खैल्छौँ, घरबाट लगेको खाजा उतै खान्छौँ, अनि साँझ परेपछि मात्र घर फर्कन्छौँ,” सोताङ–६ का करिब १२ वर्षीय नौकुबीर नाछिरिङले भने।

“बारीमा बाली पाक्ने बेलामा त कहिले पनि स्कुल जाँदैनौँ, स्कुलमा कोही पनि हुँदैनन् के जानु र” बालक नाछिरिङको भनाइ छ। आजभोलि बारीमा कोदोबाली पाक्न थालेकाले बालबालिका दिनभर बारीमै बस्ने गरेका छन्।

“जङ्गल र भिरको छेउमा रहेको बारीमा बाली पाक्न नपाउँदै हुलका हुल बाँदर आएर सिध्याउने हुनाले बिहान उज्यालो भएदेखि साँझसम्म बाँदर खेदाउन बारीमै बस्नुपर्छ। एउटै हुलमा सयभन्दा बढी बाँदर आउने र घुर्‍याउनसम्म आएर बालीनालीमा क्षति पुर्‍याउँछन् अनि त बारीमा बस्नै पर्‍यो नि” सोताङ– ६ रोककी तुलीमाया नाछिरिङले बताइन्। अभिभावक काम गर्न जानुपर्ने भएकाले बाँदर खेद्ने जिम्मा बालबालिकालाई हुने गरेको तुलीमायाको भनाइ छ।

रोकका बालबालिका वर्षमा आधाभन्दा बढी समय बाँदर खेद्दैमा बिताउँछन्। कात्तिक—मङ्सिरमा कोदो, चैत—वैशाखमा गहुँ जौ, जेठ—असारमा आलु तथा साउन—भदौमा मकैबाली जोगाउनुपर्ने भएकाले सधैँजसो बारीमा बसेर बाँदरको गोठालो लाग्नुपर्छ। बाँदर खेद्न जानुपर्ने भएकाले विद्यार्थीको पढाइसमेत प्रभावित हुने गरेको स्थानीय शिक्षक भूपेन्द्र नाछिरिङले बताउनुभयो। उहाँका अनुसार बाली पाक्ने बेलामा त विद्यालयमा विद्यार्थीको उपस्थिति अत्यन्तै कम हुने गर्छ।

त्यहाँका बालबालिका दिउँसो बाँदर खेद्न जान्छन् भने अभिभावकले रातको समयमा भालु तथा दुम्सी खेद्न जानुपर्छ। दुम्सी र भालुले पनि बालीनालीमा क्षति गर्ने भएकाले बाली पाक्ने समयमा धेरैको वास बारीमै हुने स्थानीय तुलीमायाले बताइन्। “बारीमा बाली पाक्न सुरु हुन नपाउँदै विद्यालयमा विद्यार्थी घट्न थाल्छन्, बाली उठाउने बेलामा त विद्यालय रित्तै हुन्छ, अनि कसरी पढाउने”,— शिक्षक भूपेन्द्र नाछिरिङले भने।

बालबालिकाले दिउँसो र अभिभावकले राति रुँग्दरुँग्दै पनि बेलाबेलामा जङ्गली जनावरले बालीमा क्षति पुर्‍याउने गरेका छन्। “बाली बनकरले खाएमा हामी खानै पाउँदैनौँ, त्यसैले बालबालिकालाई रुँग्न पठाउन नै पर्‍यो नि” तुलीमायाले भनिन्।

बाँदरको ठूलो हुल आएको बेलामा बारीमा थोरै बालबालिका भएमा बाँदरले आक्रमण गर्ने डरसमेत हुने गरेको छ। जनावरले गाउँका केही बालबालिकालाई घाइते बनाएको छ। दुई वर्षअघि बाँदरको आक्रमणबाट एक बालकको मृत्युसमेत भएको शिक्षक भूपेन्द्रले बताए। रासस

Leave a Reply

Your email address will not be published.