कांग्रेसका पुनःस्थापना पक्षधर ७८ पूर्वसभासद्द्वारा पार्टीको निर्णयको विरोध

काठमाडौं- नेपाली कांग्रेसका संविधानसभा पुनःस्थापना पक्षधर ७८ जना पूर्वसभासद्ले पार्टीको केन्द्रीय कार्यसमितिको हिजोको बैठकले नयाँ निर्वाचनमा जाने भनी गरेको निर्णयप्रति विरोध जनाएका छन्। नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको संविधानसभा पुनःस्थापना पक्षधर सभासद्हरुको बैठकले पार्टीको हिजोको निर्णयप्रति विरोध दर्शाएको पूर्वसभासद् शोभाकर पराजुलीले जानकारी दिए। 
बैठकले सबै राजनीतिक दलबीच शीघ्र वार्ता र छलफल अघि बढाएर विवादित विषयमा सहमति कायम गरी छोटो समयका लागि संविधानसभा पुनःस्थापना गर्न सबै पक्षसँग आग्रहसमेत गरेको छ।

बैठकले लोकतान्त्रिक मूल्य, मान्यता, आदर्श र यसको विश्वव्यापी सार्वभौम परिभाषालाई स्थापनाकालदेखि नै पूर्णरुपमा आत्मसात् गर्दै आएको ऐतिहासिक पार्टी कांग्रेसले लोकतन्त्रको सम्बर्द्धन र सङ्घीयतालाई संस्थागत गर्ने सवालमा आम राजनीतिक सहमति र संवैधानिक मूल्य, मान्यता तथा आदर्शलाई उपेक्षा गर्न नमिल्ने जनाएको छ।

पार्टीले कार्यकारिणीमार्फत् संविधान संशोधन गर्न सकिन्छ भन्ने निर्णय गर्दा आफूहरुलाई आश्चर्यचकित तुल्याएको पनि उउनीहरुले जनाए। रासस

Leave a Reply

Your email address will not be published.