पूर्व लडाकुलाई रकम वितरण

धनगढी- माओवादी सेनाका लडाकुको सातौँ डिभिजन कार्यालय (तालबन्द) कैलालीबाट स्वेच्छिक अवकाश रोजेका लडाकुलाई आजबाट दोस्रो किस्ताबापतको रकम वितरण गर्न सुरु गरिएको छ। लडाकुहरूको रेखदेख, समायोजन र पुनःस्थापनासम्बन्धी विशेष समिति सचिवालयबाट आएको टोलीले जिल्ला प्रशासन कार्यालयमा डेस्क स्थापना गरी रकम वितरण थालेको हो।

अवकाश रोजेका पूर्व लडाकुलाई उनीहरूको दर्जा हेरी रु दुई लाख ५० हजारदेखि रु चार लाखसम्मको चेक उपलब्ध गराउने गरिएको विशेष समिति सचिवालयका गोपालसिंह बोहोराले बताए। रकम वितरणको काम आगामी २५ गतेसम्म जारी रहने जनाइएको छ। सातौँ डिभिजन कार्यालयमा गएको असारमा भएको लडाकुहरूको अन्तिम छनोट प्रक्रियामा दुई हजार ८१२ लडाकुले स्वेच्छिक अवकाश रोजेका थिए भने ३१४ लडाकुले समायोजन रोजेका थिए।

रकम वितरणको कार्य सुरु भएसँगै जिल्ला प्रशासन कार्यालय परिसरमा पूर्व लडाकुहरूको भीड लागेको छ। आज रकम पाएका केही पूर्व लडाकुले अब घरमै बसेर व्यापार व्यवसाय गर्ने बताए भने केहीले विदेश गएर पैसा कमाउने योजना रहेको बताए। पार्टीले आफूहरूलाई भाडाको रूपमा प्रयोग गरेको देखिएकाले स्वेच्छिक अवकाश रोज्न बाध्य भएको पूर्व कम्पनी कमान्डर अरेन्द्र धानुकले गुनासो गरे। रासस

Leave a Reply

Your email address will not be published.