शेरबहादुर केसी, बुटवल- उनको लालनपालनका लागि बाबु हरुवा बसे। बाबुले कमाएको अन्नपानीले सिङ्गो परिवारलाई दुई छाक राम्ररी खान पुगेन। आमाले घर–घरमा पुगेर भाँडा माझ्ने र मजदुरीमा काम गर्न थालिन्। परिवारका दुई जनाले शरीर घोटेपछि जसोतसो दुई छाक टार्न सजिलो भयो। केही वर्ष बित्यो। शरीरको कम्मरमुनीको भाग नचलेकाले आमा थला परिन्।
आमा थला परेपछि बिहान–बेलुका काममा सघाएर स्कुल जाँदै गरेकी किशोरीको स्कुल यात्रा यही रोकियो। उनलाई लाग्यो–अब मेरो जीवन पनि थला पर्यो। स्कुलमा पढ्नमा तेज उनले एसएलसी पास गरेपछि जसोतसो क्याम्पस पढ्ने सपना बुनेकी थिइन्। कक्षा ७ मा पढदै गर्दा स्कुल छाडेर आमाको काम सम्हाल्नुपर्ने बाध्यता भयो। कक्षा ७ मा पढ्दापढ्दै स्कुल छाडेकी निर्मला चौधरी अहिले अपहेलित, शोषित र हिंसाको शिकार भएका महिलाको अगुवा भएकी छन्।
रुपन्देहीको केरवानीकी निर्मला महिला जागरण सहयोग समूह रुपन्देहीकी अध्यक्ष हुन्।
देवदह, केरवानी, छोटकीरामनगर, मक्रहर, करैया र सिक्टहनमा गठन भएका ८४ महिला समूहको परिचालन र अनुगमन गर्दै उनीहरूलाई सशक्त बनाउनमै उनको ध्यान जान्छ। ‘हिजो बोल्न नसक्ने महिला अहिले अन्याय अत्याचार विरुद्ध खुलेर बोल्न सक्ने भएको देख्दा निकै खुशी लाग्छ,’ उनले भनिन्।
वर्षैपिच्छे बच्चा जन्माउनेले परिवार नियोजनको साधन प्रयोग गर्न थालेका छन्। जन्मान्तर बढेको छ। घरेलु हिंसा विरुद्ध घटेको छ। चाडवाडमा माइत जान नसक्ने महिला अहिले समूहको कार्यक्रम चलाउन सक्ने भएका छन्। व्यवसायिक तरकारी खेती गरेर आयआर्जन गरेका छन्। बचत गर्ने बानीले हरेक समूहको कम्तिमा १ लाखदेखि ३ लाख रूपैयाँ बचत संकलन भएको छ। गाउँमा परी आएको बेला यही पैसाले काम चलेको छ। २०५२ मा परिवर्तनका लागि कार्यरत महिला समूह वाचले रुपन्देहीमा विपन्न समुदायमा काम गर्न थालेको हो। वाचले थालेको समुदाय सशक्तिकरणको अभियानलाई अहिले महिला जागरण सहयोग समूहले अगाडि बढाइरहेको छ।
कुनै बेला हरुवाकी छोरी भन्नेहरू नै अहिले उनलाई अगुवा महिलाको रूपमा गाउँमा परेका समस्याका बेला सोधखोज गर्छन्। अहिले गाउँमा रहेका महिला समूहलाई विभिन्न तालिम र कार्यक्रमका लागि गाविस र जिविसबाट बजेट छुट्टयाउन र कार्यक्रम बनाउन उनी खटिरहेकी छिन्।
२०६३ सालमा उनले नौ पर्षदेखि खाँदै आएको जागिर छाडिन्। घरायसी कामकाजमा अल्झनु पर्दा जागिर छाड्नुपरे पनि समुदायका बीचमा काम गर्दै आएको बानीले त्यत्तिकै बस्न दिएन। समुदायमा गर्ने काम जागिरका लागि मात्रै होइन भन्दै उनले विगतमा काम गर्दै आएको क्षेत्रमै समय मिलाएर काममा खटिन्। त्यही सामाजिक भावनाले ओतप्रोत भएर खट्दा अहिले उनको पहिचान चुलिएको छ। फिलिपिन्समा रहेको एशियन ग्रामीण महिला सञ्जालले एक महिना अगाडि एशियाका उत्कृष्ट १ सय ग्रामीण महिला नेतामा निर्मलालाई छानेको छ।
कसरी पाइन उनले यो सफलता? ‘जिम्मेवारी र दायित्व बहन गर्न कहिल्यै पछि हटिन,’उनले भनिन्। जब आमा थला परिन्, उनले गर्दै आएको काम गर्नुपर्दा कत्ति पनि अप्ठारो मानिनन्। बरु अप्ठारो थियो उनलाई पढाइ छाड््नुपरेकोमा। सानै उमेरमा आमाले गरेको काम सम्हाल्न पाउँदा कामकाजी बनाएको उनको अनुभव छ।
उनका बाजे कुनै बेला रुपन्देहीको कुञ्जलापुरमा राम्रै जग्गाजमिन भएका व्यक्ति थिए। बाबुले सोचे–यहाँको जग्गा बेच्ने र कैलालीतिर गएर बस्ने। यहाँको जग्गा त बेचे तर कैलालीमा गएर जग्गाजमिन किन्न सकेनन्। यताउता गर्दागर्दै सबै पैसा सकियो। त्यसपछि सुरु भयो हरुवा जीवन। भएभरको सम्पत्ति सकिएपछि छाक टार्नकै लागि हरुवा बस्नु उनका बाबुको बाध्यता भयो।
२०४६ सालमा बाबुसँगै उनी फेरि पुर्ख्यौली थलो कुञ्जलापुर आइन्। २०४७ सालमा उनको बिहे भयो केरवानीका दीर्घबहादुर चौधरीसँग। घर आउँदा खेतीपाती गर्ने जमिन थिएन्। ससुरा हेल्थपोष्टमा कार्यालय सहयोगी थिए। सासु र नन्द सबै जमिन्दारकहाँ मजदुरी गर्न जानुपर्दथ्यो। बिहे गरेर घर आएपछि उनी पनि सासुसँगै मजदुरी गर्न थालिन्। ‘मजदुरी गरेको जमिन्दारले दिनको चार कुरुवा धान दिन्थे, त्यो पनि राम्रो हुन्थेन,’ उनले भनिन्।
निर्मलाले आफ्नो सफलतामा श्रीमानको पनि हात रहेको बताइन्। ‘श्रीमानको सहयोग नभएको भए यो ठाउँमा पुग्न सक्ने थिइन,’ उनले भनिन्। मोटरसाइकल चलाएर उनलाई बैठक र सभामा पुर्याउन श्रीमानले सहयोग गरिरहेका छन्। अहिले उनलाई पढाइ भएको भए अझै माथि पुग्न सक्थे भन्ने लागेको छ। तर पनि पछुतो छैन। नेतृत्व विकास गरे धेरै गर्न सकिँदो रहेछ भन्ने उनलाई लागेको छ।
नागरिक पश्चिमेलीबाट साभार