कालिगण्डकीमा जिप खस्दा दस घाइते

गुल्मी- गुल्मीको रिडी नजिकै साँघुरेमा जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन्। ठूलोलुम्पेकबाट बुटवलतर्फ जाँदै गरेको लु१ज १९५८ नम्बरको जिप साँघुरेबाट कालीगण्डकी नदीमा खसेर दुर्घटना भएको हो। रिडी–रुद्रबेनी सडकखण्डको साँघुरे भन्ने ठाउँमा ब्रेक फेल भएर जिप नदी किनारमा खसेको घाइते यात्रु सुनु श्रेष्ठले बताए। दुर्घटनास्थलमा भर्खरै मात्र प्रहरी र स्थानीय पुगी उद्धार कार्य थालिएको प्रहरी निरीक्षक बिनीमहादेव पौडेलले बताउनुभयो। घाइते नौजनालाई लुम्बिनी मेडिकल कलेज पठाइएको छ।

घाइतेमध्ये ठूलोलुम्पेकका भीमबहादुर सुनार, खेमबहादुर फौजाको अवस्था गम्भीर रहेको बताइएको छ। अन्य घाइतेहरुमा जयखानीका सुनु श्रेष्ठ, सुस्मिता राहाडी, भरत राना, ठूलो लुम्पेकका छवि थापा, धनकुमारी सुनार, कमल सुनार, सम्झना सुनार, टकसरा सुनार रहेका छन्। सडकखण्डकै अन्त्यन्तै जोखिमपूर्ण स्थानमा दुर्घटना भए पनि ठूलो मानवीय क्षति हुनबाट जोगिएको छ।

रिडी–रुद्रवेणी सडकखण्ड स्तरोन्नति गरी ग्राभेल गर्ने प्रक्रिया सुरु भए पनि चट्टान काट्न नसकिएको भन्दै सो ठाउँलाई जस्ताको तस्तै छाडिएको छ। रासस

Leave a Reply

Your email address will not be published.