पूर्ण बजेट ल्याउन एमाओवादी-मधेसी मोर्चाबीच छलफल

काठमाडौं- सत्तारुढ एमाओवादी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले पूर्ण बजेट ल्याउन विशेष पहल गर्ने निर्णय गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सरकारले गत असार मसान्तमा प्रस्तुत गरेको एक तृतीयांश बजेटको समयसीमा कात्तिक मसान्तमा सकिने भएकाले पूर्ण बजेटको तयारी गर्ने निर्णय गरेको हो।

वर्तमान राजनीतिक सङ्कटको निकासका लागि सरकार र सरकार सम्बद्ध दलहरुले गरेको सकारात्मक प्रयासलाई विपक्षी दलहरुले कमजोरीका रुपमा लिएको भन्दै बैठकले सहमति पनि गर्न नचाहने अनि सत्तालाई मात्रै केन्द्रबिन्दुमा राखेर अगाडि बढ्ने प्रवृति बाधक रहेको निष्कर्षसमेत निकालेको बताइएको छ।
मुख्यगरी वर्तमान राजनीतिक सङ्कटको निकासको विषयमा नै छलफल भएको तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले जानकारी दिए।
विपक्षी दलहरुले सत्तालाई नै केन्द्रविन्दुमा राखेर अगाडि बढेका कारण सहमति हुन नसकेको स्थितिलाई नै छलफल मुख्य विषय बनाइएको उनले उल्लेख गरे। बैठकमा पूर्ण बजेटका लागि आवश्यक गृहकार्य गर्ने निर्णयसमेत भएको छ।

राष्ट्रपतिले सहमतिमा आएको बजेट अध्यादेश मात्रै स्वीकृत गर्ने बताएको प्रसङ्गप्रति तमलोपा अध्यक्ष ठाकुरले भने- ‘नागरिकको आवश्यकता के हो भन्ने विषय नै महत्वपूर्ण हो, हामीले त्यही विषयमा छलफल गर्‍यो।’

बैठकमा संविधानभा पुनःस्थापना वा नयाँ चुनाव भन्ने विषयमा सामान्य कुराकानी भएको पनि उनले बताए।

बैठकमा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष एवम् प्रधानमन्त्री बाबुराम भट्टराई, अर्का उपाध्यक्ष एवम् उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष एवम् उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदार, मधेसी जनअधिकार फोरम (गणतान्त्रिक)का कार्यवाहक अध्यक्ष एवम् सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, भौतिक योजना, निर्माण तथा यातायात व्यवस्था मन्त्री हृदयेश त्रिपाठी, सद्भावना पार्टीका अध्यक्ष एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री राजेन्द्र महतोलगायतका नेताहरुको उपस्थिति थियो। रासस

Leave a Reply

Your email address will not be published.