मेसीले कोसेढुंगो पार गर्दा बार्सिलोनाको रवाफ

मड्रिड, एजेन्सी– लियोनल मेसीले तीन सय गोलको कोसेढुंगो पार गर्दा शनिबार स्पेनिस ला लिगाको खेलमा बार्सिलोनाले रायो भालिसानोलाई ५–० ले हराएको छ। मेसीले २ गोल गरेको खेलमा डेभिड भिया, जाभी हर्नान्डेड र सेस फेब्रिगासले १/१ गोल थपेका थिए। शनिबारको खेल उनको खेल जीवनको तीन सय र ३ सय १औं गोल थियो। ४ सय १९ खेलमा उनले बार्सिलोनाका लागि २ सय ७० र अर्जेन्टिनाको लागि ३१ गोल गरेका छन्। रायोविरुद्धको गोलसँगै लिगमा यो सिजन मेसीको गोल संख्या १३ पूगेको छ भने सबै खाले प्रतियोगितामा गरी उनले सन् २०१२ भित्र ७३ गोल पुर्‍याईसकेका छन्। एकै बर्षभित्र ७५ गोल बनाएर पेलेले कायम गरेको किर्तिमानभन्दा मेसी अव दुई गोलले मात्र पछाडी छन्। पेलेले सान्तोष र ब्राजिलका लागि १९५९ मा ७५ गोल गरेका थिए। एक बर्षमा सर्वाधिक गोल गर्ने खेलाडीको सुचीमा ग्रेड मुलर सवभन्दा अगाडी छन्। उनले १९७२ मा बायर्न म्युनिख र पश्चिम जर्मनीका लागि गरी ८५ गोल गरेका थिए।
बार्सिलोनाका प्रशिक्षक टिटो भिलानोभाले उच्च प्रदर्शनका साथ सम्भव २७ मध्ये २५ अंक बटुल्दै क्लबकै पूरानो कीर्तिमानसँग बराबरी गरेका छन्। ‘२७ मध्ये २५ अंक जोड्नु सहज काम पक्कै होइन। केही खेलमा हामी बराबरीमा थियौं तर अन्तिमसम्म पनि हामीले संघर्ष जारी राख्दै नजिता आफ्नो पक्षमा पारेका छौं,’ भिलानोभाले भने। उनले मेसीले देखाउँदै आएको टिम भावना र गोलको खुलेर प्रसंसा गरे।
‘हामी मेसीप्रति आभारी छौं। ५–० ले हामी अगाडी थियौं। खेल सकिन एक मिनेटमात्र बाँकी थियो। त्यस्तो अबस्थामा मेसी कर्नर किकबाट आएको बल बचाउन गएका थिए,’ उनले भने, ‘उनको यो मेहनतको हामीले सरहाना गर्नैपर्छ।’
रायोले सुरुआतमा बार्सिलोनामाथि दबाब बनाएको थियो। तर १९ औं मिनेटमा मेसीले पहिलो आक्रमण गरेपछि भने खेलमा विस्तारै बार्सिलोनाको पकड बन्दै गएको थियो। त्यसको एक मिनेटपछि नै बार्सिलोना गोल गर्न सफल भएको थियो। स्पेनिस टोलीका सर्वाधिक गोलकर्ता भियाको गोलमा बार्सिलोना मध्यान्तरअघि १–० ले अघि लागेको थियो। दोस्रो हाफ सुरु भएलगत्तै मेसीले गोल गरे। अन्तिम १२ मिनेटमा जाभी, फार्बिगास र मेसीले १/१ गोल थपेपछि टोलीको जित सहज भयो।
त्यसअघि मालागा र स्पान्योलले गोलरहित बराबरी खेले। साल्भा सेभियाको गोलमा रियाल बेटिसले भ्यालेसिन्यालाई १–० ले हरायो। डिर्पोटिभो ला कोरुना र सेल्टा भिगोबीचको खेल १–१ को बराबरीमा सकियो।

Leave a Reply

Your email address will not be published.