एक हजार गाईभैँसीमा कृत्रिम गर्भाधान

गोरखा- जिल्ला पशुसेवा कार्यालय गोरखाले जिल्लाका विभिन्न स्थानमा रहेका एक हजारभन्दा बढी गाईभैँसीमा कृत्रिम गर्भाधान गराएको छ। जिल्ला पशुसेवा कार्यालय गोरखाका पशु चिकित्सक कपिल कट्टेलका अनुसार जिल्लाको मिरकोट, धुँवाकोट, गाईखुर, पालुङटार, देउराली, च्याङ्लीलगायतका गाउँ विकास समितिमा रहेका गाई र भैँसीमा कृत्रिम गर्भाधान गराइएको हो।

कार्यालयले आर्थिक वर्ष ०६८/०६९ देखि जिल्लामा यो सेवा प्रदान गर्दै आइरहेको छ। सो आर्थिक वर्ष ४४७ गाई र २६५ भैँसीमा कृत्रिम गर्भाधान गराइएको थियो। आर्थिक वर्ष ०६९/७० सुरु भएपछि झन्डै ३०० गाईभैँसीमा कृत्रिम गर्भाधान गराइएको जिल्ला पशुसेवा कार्यालय तथ्याङ्कले देखाएको छ। चालु आर्थिक वर्षका लागि एक हजार गाईभैँसीमा कृत्रिम गर्भाधान गराउने लक्ष्य लिइएपनि तीन महिनामै ३०० वटामा गर्भाधान गराइएको छ।
गर्भाधानको लागि वर्षभर बहर पालेर राख्नुभन्दा किसानको लागि कृत्रिम गर्भाधान उत्तम हुने गरेको कार्यालयको ठहर छ। कृत्रिम गर्भाधानपछि गाईभैँसीको दूध उत्पादनमा समेत वृद्धि हुने गरेको गाईखुरका किसान गणेश श्रेष्ठले बताए।
धेरै दूध दिने र दानापानी थोरै लाग्ने हुनाले किसानले गाईपालन गर्ने गरेको र कृत्रिम गर्भाधान गराउने क्रममा गाईको सङ्ख्या धेरै हुने गरेको जिल्ला पशुसेवा कार्यालय गोरखाका प्रमुख जीवलाल लम्सालले बताए।
किसानले सामूहिकरूपमा गाईपालन गर्ने क्रम बढेसँगै गोरखामा दूधको उत्पादन बढ्नुका साथै खपतसमेत बढेको छ। दैनिक चार हजार लिटर दूध खपत हुने गरेको गोरखामा अझै उत्पादन पूर्ण क्षमतामा नभएको दूध उत्पादन गर्ने किसान राजेन्द्रराज पन्तले बताए।

जिल्लाको बुङ्कोट, मिरकोट, धुँवाकोट, च्याङ्ली, गाईखुर, पालुङटार, आरुघाटलगायतका स्थानमा दूध चिस्यानका लागि चिलिङ भ्याटसमेत रहेका छन्। रासस

Leave a Reply

Your email address will not be published.