आज एकादशी, टीका लगाउने चहलपहल

काठमाडौ- बडादसैँअन्तर्गत आज एकादशीको दिन राजधानीमा आफ्ना मान्यजन र आफन्तबाट टीका लगाउन र आशीर्वाद लिन हिँडिरहेका सर्वसाधारणको चहलपहल केही बढेको छ। सवारीसाधन पनि अन्य दिनको तुलनामा बढी चलेको देखिन्छ। कोजाग्रत पूर्णिमाको दिनसम्म टीका लगाउने प्रचलन रहेको छ। लामो समयसम्म भेटघाट नभएका आफन्तसम्म भेटघाटको ठूलो अवसर दसैँ भएको छ। यस पर्वले आपसी सद्भाव, विश्वास र भाइचारा अझ बढाउने गरेको छ। पहिले पहिले सरकारी बिदा नहुने गरेपनि पूर्णिमासम्म नै यस वर्ष इद र शनिबारको बिदा पनि परेकाले राजधानीबाट टीका लगाउन बाहिरिएकाहरूले  फर्कन हतार गर्नुपर्ने अवस्था छैन।

निधारमा रातो टीका र जमरा लगाएका धेरैजसो यात्रु हिँडेर नै आफ्नो गन्तव्यतर्फ गइरहेका देखिन्छन्। राजधानी अहिले प्रदूषणमुक्त रहेको, धुवाँ र धुलोबाट सास्ती भोग्नु नपरेकाले पनि हिँड्न रमाइलो भएको बटुवाको भनाइ  छ।

सार्वजनिक भाडाका सवारीसाधन कम चलेकाले ट्याक्सीले मनपरी भाडा असुल्ने गरेको गुनासो यात्रुको रहेको छ। नयाँ बानेश्वरबाट सामाखुसीसम्म जाँदा ट्याक्सीले रु पाँच सय पचाससम्म लिएको एक यात्रुले बताए। रासस

Leave a Reply

Your email address will not be published.