वन अधिकृतलाई मन्त्रीले जुत्ताले पिट्ने धम्की दिए

गौशाला, कात्तिक ८- वनमन्त्री यदुवंश झाले जिल्ला वन कार्यालय महोत्तरीका प्रमुख विद्यानाथ झालाई जुत्ता देखाएर दुर्व्यवहार गरेका छन्। आफ्ना नातेदारलाई बोका ढुवानी गर्न जिल्ला वन कार्यालयले गाडी उपलब्ध नगराएको निहुँमा वनमन्त्री झाले आज बिहान जिल्ला सदरमुकाम जलेश्वरस्थित वन कार्यालयमा पुगी कार्यालय प्रमुख झालाई गाली गर्दै जुत्ताले पिट्ने धम्की दिएका थिए।

छोरा र नातिसहित वन कार्यालय पुग्नुभएका मन्त्री झालाई कार्यालय प्रमुख झाले फूलमाला लगाई स्वागत गर्नुभएको थियो। तर मन्त्री झाले कार्यालयमा छिर्ने बित्तिकै झालाई ‘तँ निच र पतित होस्, तँजस्तालाई जुत्ताले हिर्काउनुपर्छ’ भनेका थिए।

कार्यालय प्रमुख झाले दसैँको बिदामा सरकारी गाडी प्रयोगमा नल्याउने भन्ने निर्देशन मुताबिक गाडी कार्यालय प्रयोजनमा समेत प्रयोग नगरिएको र मन्त्रीलाई पनि उपलब्ध नगराइएको बताए।
झाकाअनुसार हिजो मन्त्रीका सालोका छोराले बोका चढाउन कार्यालयको गाडी मागेको थियो। बिदाको बेला भए पनि विभागीय मन्त्री आउँदै गरेको भन्ने सूचना पाएर स्वागतका लागि कार्यालय खोली बसेका झालाई मन्त्रीले आज बिहान ११ बजे कार्यालय पुग्ने बित्तिकै दुर्व्यवहार गरेका थिए। रासस

Leave a Reply

Your email address will not be published.