ब्रेस्ट क्यान्सर पत्ता लगाउने स्मार्ट ब्रा

वासिङटन, एजेन्सी– हालै एक अमेरिकी कम्पनीले ब्रेस्ट क्यान्सर सुरु हुनासाथ पत्ता लगाउन सक्ने ब्राको डिजाइन तयार पारेको बताएको छ। अमेरिकाको नेभादा राज्यमा रहेको लाइफलाइन बायो टेक्नोलजी कम्पनीले ब्राको नाम फर्स्ट वार्निङ सिस्टम अर्थात स्मार्ट ब्रा राखेको छ। कम्पनीले ब्रामा बे्रस्ट क्यान्सरलाई सुरुवातमा नै पत्ता लगाउने हाइटेक डिभाइस राखेको दाबी गरेको छ। ब्रेस्ट क्यान्सर सुरुवाती अवस्थामा नै पत्ता लागेमा रोगीलाई क्यान्सरमुक्त गर्न र ज्यान बचाउन सकिन्छ।

कम्पनीको दाबी सहि भए त्यस्तो स्मार्ट ब्राले सुरुवाती अवस्थाका धेरै बे्रस्ट क्यान्सर रोगीको उपचार गर्न र ज्यान बचाउन सकिनेछ। अहिलेसम्म म्यामोग्रामलाई ब्रेस्ट क्यान्सर पत्ता लगाउने सबैभन्दा राम्रो परम्परागत उपायका रुपमा लिने गरिएको छ। तर स्तनमा क्यान्सरका गाँठा बन्न थालेको छ वर्षपछि मात्र म्यामोग्रामले ब्रेस्ट क्यान्सर लागेको पत्ता लगाउन सक्छ। म्यामोग्रामबाट ब्रेस्ट क्यान्सर लागेको थाहा पाउँदा उपचारका लागि निकै ढिलो भइसकेको हुन्छ र रोगीलाई क्यान्सरमुक्त बनाउने सम्भावना थोरै हुन्छ।

लाइफलाइन टेक्नोलजी कम्पनीले ब्रामा स्तनपट्टि छुने गरी १६ वटा सेन्सर राखेको जनाएको छ। लाइफलाइनका अनुसार ब्रामा जडान गरिएको सेन्सरयुक्त यन्त्रले क्यान्सरका गाँठा बन्न थाल्नासाथै क्यान्सर पत्ता लगाउँछ। यसो भए ब्रेस्ट क्यान्सरको तुरुन्तै उपचार गर्न र क्यान्सरमुक्त बनाउन सकिन्छ।

कम्पनीले ब्राको भित्रपट्टि सेन्सर जडान गरिएको जनाएको छ। सेन्सरले कोषको तापमानमा हुने कुनै पनि किसिमको परिवर्तन पत्ता लगाउन सक्छ। खासमा कोषमा रक्तकोष वृद्धि भए तापमान बढ्छ र यसै कारणले स्तनमा गाँठा(ट्युमर) बन्छ।

कम्पनीले सेन्सरमा एक सफ्टवेयर समेत राखेको छ। सफ्टवेयरले सेन्सरबाट प्राप्त डाटा विश्लेषण गरी स्तनका कोषमा हुने परिवर्तन पत्ता लगाउने छ। सफ्टवेयरले गर्ने डाटा विश्लेषणबाटै स्तनमा गाँठा(ट्युमर) बनेको पत्ता लाग्नेछ। ब्रा अहिले परीक्षण चरणमा रहे पनि कम्पनीले दुई वर्षभित्र अमेरिकी बजारमा बिक्री गर्ने बताएको छ।

Leave a Reply

Your email address will not be published.