घुस माग्ने श्रममन्त्रीलाई तत्‍काल राजीनामा गर्न प्रमको निर्देशन

काठमाडौं, कात्तिक ४- प्रधानमन्त्री बाबुराम भट्टराईले भ्रष्टाचारको अभियोग लागेका श्रममन्त्री कुमार बेल्वासेलाई पदबाट राजीनामा दिन निर्देशन दिएका छन्। म्यानपावर दर्ताको विषयमा खुलमखुल्ला घुस मागेको देखिएकाले बेल्वासेलाई तत्काल पद त्याग्न आफूले निर्देशन दिइसकेको प्रधानमन्त्री डा बाबुराम भट्टराईले बताए। 

 
उनले भने- भ्रष्टाचारको अभियोग लागेपछि नैतिकताको हिसाबले पनि राजीनामा दिनुपर्दछ, मैले श्रममन्त्री बेल्वासेलाई राजीनामा दिन भनेको छु।

प्रधानमन्त्री डा भट्टराईले नेकपा (माले)का महासचिव सिपी मैनालीलाई पनि तत्काल बेल्वासेलाई फिर्ता गर्न आग्रह गरेको समेत जानकारी दिए। ‘नैतिक हिसाबले राजीनामा दिनुहुन्छ भने राम्रो हुन्छ, होइन भने उहाँलाई हटाउनुपर्ने हुनसक्छ,’ प्रधानमन्त्रीले भने।

श्रममन्त्री बेल्वासेले म्यानपावर दर्ताको सम्बन्धमा खुलमखुल्ला घुस मागेको आजका केही सञ्चार माध्यममा समाचार प्रकाशित भएका थिए। भ्रष्टाचारको अभियोगमा मन्त्रीमाथि कारबाही हुन लागेको यो दोस्रो पटक हो, यसअघि सरिता गिरीलाई पनि भ्रष्टाचारको अभियोगमा प्रधानमन्त्रीले बर्खास्त गरेका थिए। रासस

Leave a Reply

Your email address will not be published.