नेपालको राजनीतिक प्रक्रियामा उल्लेख्य प्रगति भएको दाहालको दाबी

काठमाडौं- एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले नेपालको राजनीतिक प्रक्रियामा उल्लेख्य प्रगति भएको बताएका छन्। युरोपेली संसद्को विशेष सत्रलाई हिजो सम्बोधन गर्दै उनले नेपालमा परिवर्तनको प्रवाह तीव्रतररूपमा अगाडि बढेको र त्यसले विश्वमै नयाँ खालको विश्वास पैदा भएको बताए।

‘शान्ति प्रक्रिया र नेपालको सक्रमणकालः नेपालको शान्ति यात्रा, प्रजातन्त्र र समावेशीता’ विषयमा मन्तव्य दिँदै अध्यक्ष दाहालले १० वर्षे जनयुद्ध, जनआन्दोलनको बलमा नेपालमा स्थापित लोकतन्त्र विस्तारै विकासको क्रममा रहेको उल्लेख गरे।
नेपाली जनताको बलमा स्थापित गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता र सङ्घीयतालाई कोही कसैले पनि खोस्न नसक्ने स्पष्ट पार्दै उनले नेपालमा जारी शान्ति प्रक्रिया विश्वकै एउटा मोडलको रूपमा स्थापित भएको बताए।
उनले भने, ‘जनता नै सबै राजनीतिक परिवर्तनका निर्णायक शक्ति हुन भन्ने कुरा नेपालको घटनाक्रमहरुले पुष्टि गरिसकेको छ, त्यसमा विदेशी मित्रहरु, नेपालका शुभेच्छुकहरुको सहयोग र सद्भाव पनि त्यत्तिनै उल्लेखनीय रहेको छ।’
नेपालको आधारभूत परराष्ट्र नीति सौहार्दता र सहअस्तित्वको सम्बन्धको आधारभूत नीति हो। विश्वभरी नै समानता आपसी सम्मान, विश्वभाइचारा र समझदारीको नीति नेपालले अवलम्बन गर्दै आएको उनले स्पष्ट पारे।
सन् २००६ मा भएको बृहत् शान्ति सम्झौतामा उल्लेख भएका समावेशीता, सामाजिक न्याय, मानअधिकार र समावेशी प्रजातन्त्रको विषयलाई नयाँ संविधानमा स्थापित गराउनका लागि आफूहरु प्रयासरत रहेको उनले बताए। मुख्य दलहरुका बीचमा सङ्घीयताको विषयमा कुरा मिल्न नसक्दा गत जेठ १४ गते संविधान जारी हुन नसकेको भए पनि पछिल्ला दिनहरुमा दलहरुसँगको वार्ता र संवादले फेरि पनि नयाँ आधारमा सहमति हुने वातावरण बनेको समेत उनले बताए।
सरकारले नयाँ निर्वाचन घोषणा गरेको र दलहरुका बीचमा सहमतिको प्रयास पनि भइराखेको सन्दर्भमा नेपाल अब नयाँ दिशामा अगाडि बढ्ने उनको भनाइ थियो। विश्व रङ्गमञ्चमा युरोपेली सङ्घको भूमिका उल्लेखनीय र प्रशंसनीय रहेको र त्यसले नेपालजस्ता अल्पविकसित देशहरुले सिक्नु र जान्नु पर्ने विषयहरु धेरै रहेको भन्दै नेपाललाई गरिरहेको सहयोगको मात्रा बढाउन आग्रहसमेत गरे।
नेपालको सामाजिक, आर्थिक विकासमा सहयोग गर्दै आएको युरोपेली सङ्घले विशेष गरी गरिबी निवारण, वातावरणीय संरक्षण, दिगो विकास, आधारभूत तथा प्राथमिक शिक्षा, सहरी विकासमा र शान्ति र सम्वृद्धिमा काम गरेको स्मरण गर्दै अध्यक्ष दाहालले त्यसलाई अझ विस्तार र विकास गर्न लाग्नुपर्नेमा जोड दिए। रासस

Leave a Reply

Your email address will not be published.