आजदेखि दसैं सुरु

काठमाडौं- नेपालीहरूको महान् चाड बडादसैं आजदेखि १५ दिनसम्म अर्थात् आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म परम्परानुसार दूर्गा भवानीको पूजा–आराधना गरी हर्षोल्लासका साथ मनाइँदैछ। बडादसैंको पहिलो दिन आज बिहान आ–आफ्ना घरको पूजाकोठा तथा दसैंघरमा विधिपूर्वक दियो, कलश र गणेशको पूजासहित माटोको पूर्ण घडामा गाईको गोबर टाँसी जौ र मकै रोपेर घटस्थापना गरिँदैछ।

आज ११ : ०७ बजे बिहान घटस्थापना, कात्तिक ८ गते बुधबार विजयादशमीका दिन बिहान १० : ३५ बजे देवी विसर्जन र बिहान ११ : २९ बजे टीका लगाउनका लागि शुभ साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष डा माधव भट्टराईले बताए।

यसैगरी कात्तिक ५ बुधवार फूलपातीका दिन बिहान ०९ : ११ बजे तुलजाभवानीको यात्रा तथा ०९ : ५१ बजे थिराशनका लागि साइत र कात्तिक ८ गते बुधवार विजयादशमीका दिन ११ : ४३ बजे तुलजाभवानीको यात्रा तथा १२ : ३९ बजे थिराशनका लागि साइत जुरेको जानकारी उनले दिए।

विजयादशमीका दिन आफ्ना मान्यजनबाट टीका ग्रहण गर्दा अरू फूलको सट्टा समृद्धिको प्रतिक पहेँलो जमरा नै प्रयोग गरिने हुनाले जमरा उमार्न शुद्ध माटो तथा बालुवा प्रयोग गरिन्छ।

यसरी जमरा राख्दा घटस्थापनाको अघिल्लो दिन नै आ–आफ्ना घरआँगनलाई लिपपोत गरी सिँगारेर सफासुग्घर राखिन्छ। असत्यमाथि सत्य र आसूरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा मनाइने यस पर्वअन्तर्गत नवरात्रिका उपलक्ष्यमा आजदेखि नौदिनसम्म विभिन्न शक्तिपीठ तथा दसैँघरमा प्रत्येक दिन पूजाअर्चनासहित दुर्गा सप्तशती चण्डी र भगवतीको स्तोत्र पाठ गर्ने गरिन्छ।

बडादसैँको सातौँ दिन कात्तिक ५ गते आइतबार मलुकभर धार्मिक परम्पराअनुसार फूलपाती भित्र्याइने, महाअष्टमी र महानवमीका दिन दसैँघर र कोतलगायत विभिन्न शक्तिपीठमा बलिसहित विशेष पूजा गरिने, विजयादशमीका दिन नौदिनसम्म दसैँघरमा दुर्गा भवानीको पूजाआराधना गरी राखिएको जमरासहितको टीका लगाउने र कोजाग्रत पूर्णिमाका दिन घटस्थापनाका दिन राखिएको जमरा विसर्जन गरी साँझ महालक्ष्मीको पूजा आराधना गरिने प्रचलन छ।

यस चाडभर विभिन्न देवदेवीका अतिरिक्त विशेषगरी शक्तिस्वरूपा दुर्गा भवानीको नौरूप शैलपुत्री, ब्रम्हचारिणी, चन्द्रघन्टा, कूष्माण्डा, ष्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र वुद्धिदात्रीको पूजा गरिने भएकाले यो चाड दुर्गापूजाका नामले पनि प्रचलित छ।

परम्पराअनुसार घटस्थापनाका उपलक्ष्यमा काठमाडौँको हनुमानढोका दरबारमा रहेको दसैँघरमा वैदिक विधिपूर्वक जमरा राखी महाकाली, महालक्ष्मी, महासरस्वतीलगायत नवदुर्गा र अन्य शक्तिपीठहरूमा नवरात्रि पूजा आरम्भ गरिन्छ।

विभिन्न कारणवश आफ्नो मूलघरबाट टाढा रहेका परिवारका सदस्यहरू सपरिवार बसेर दसैँ मनाउन घर फर्कने क्रम सुरु भइसकेको छ। घर जान र घर फर्कनाका लागि राजधानीमा मानिसहरूको आउने र त्यहाँबाट बाहिर जाने क्रम बढिरहेको छ।

बडादसैँका अवसरमा आजदेखि मुलुकभरिका धेरैजसो शिक्षण संस्था र अदालतहरू कोजाग्रत पूर्णिमासम्मका लागि बिदा गरिएका छन्। रासस

Leave a Reply

Your email address will not be published.