मन्त्रिपरिषद् बैठकले अस्पतालको नाम फेर्‍यो

काठमाडौं- सरकारले बुधबार दिवङ्गत हुनुभएका जिउँदो सहिदको नामले परिचित वरिष्ठ राजनीतिज्ञ रामहरि शर्माप्रति शोक व्यक्त गर्दै शोकसन्तप्त परिवारमा हार्दिक समवेदना प्रकट गरेको छ। मन्त्रिपरिषद्को आजको बैठकले स्वर्गीय शर्मालाई राज्यको तर्फबाट दिइने अमरत्वका लागि परिवारसँग छलफल गरेर आवश्यक निर्णय लिने पनि निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले जानकारी दिए।

बैठकले सगरमाथा अञ्चल अस्पतालसहित तीनवटा अस्पतालको नाम फेर्ने निर्णय पनि गरेको छ। यसअनुसार सगरमाथा अञ्चल अस्पताललाई गजेन्द्रनारायण सिंह अस्पताल, लहानस्थित बाल अस्पताललाई सहिद रमेश महतो अस्पताल र गुलरिया अस्पताललाई जिल्ला अस्पताल बर्दिया नामकरण गर्ने निर्णय भएको छ।

सरकारले झपट बोहराको संयोजकत्वमा पाँच सदस्यीय सुदूरपश्चिमाञ्चल विकास आयोग गठन गरेको छ। यस्तै द्वन्द्वपीडित समस्या समाधान आयोगको समयावधि आगामी चैत मसान्तसम्मका लागि थप गर्ने निर्णय गरिएको छ।

त्यसैगरी बैठकले राष्ट्रिय पर्यटन तथा खेलकुद महोत्सव सुर्खेतलाई रु १० लाख सहयोग गर्ने निर्णय गर्नाका साथै भूमिसुधार मन्त्रालयका उपसचिव हृदयनाराण मिश्रलाई सहसचिवमा बढुवा गरेको छ। रासस

Leave a Reply

Your email address will not be published.