बैठक–सम्वादलाई निरन्तरता दिने एमाओवादीको निर्णय

काठमाडौं- एमाओवादीले वर्तमान राजनीतिक सङ्कटको निकासका लागि अन्य राजनीतिक दलहरुसँग वार्ता र संवादलाई निरन्तर अगाडि बढाउने भएको छ। देशमा राजनीतिक सङ्कट गहिरिँदै गएको भन्दै एमाओवादीले राजनीतिक दलहरूका बीचमा वार्ता र छलफललाई तीव्रता दिने निर्णय गरेको हो।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको एमाओवादी पदाधिकारी तथा सङ्गठन विभागको बैठकले राजनीतिक निकासका लागि वार्ता र संवादलाई अगाडि बढाउने निर्णय गर्दै अन्य राजनीतिक दललाई पनि राजनीतिक निकासका लागि इमान्दार भएर प्रस्तुत हुनसमेत आग्रह गरेको छ।

बैठकमा पार्टीले आगामी माघमा तय गरेको महाधिवेशनको विषयमा छलफल केन्द्रीत भएको एमाओवादीका प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए। महाधिवेशनको विषय, त्यसको कार्यविधि जिल्ला संयोजक तथा राज्य संयोजकहरुले केही दिन पहिले कार्यशालामा राखेको धारणालाई आत्मसात गर्दै अगाडि बढ्ने विषयमा पनि छलफल भएको बताइएको छ।

विगत २२ वर्षदेखि हुन नसकेको महाधिवेशनलाई सफल बनाउनका लागि सारा पार्टीपङ्क्तिलाई क्रियाशील बनाउनुपर्ने र महाधिवेशनका सन्दर्भमा आउन सक्ने समस्याका विषयमा बैठकमा कुराकानी भएको प्रवक्ता सापकोटाले जानकारी दिए।

नेपाली कांग्रेस र नेकपा एमाले राजनीतिक निकासका लागि भन्दा पनि सरकारलाई नै केन्द्रबिन्दुमा राखेर अगाडि बढेका कारण सहमति र राजनीतिक निकास निस्कन नसकेको भन्दै सरकारमा रहेका दलहरुसँग पनि छलफल गर्ने र आगामी रणनीति तयार पारिने एमाओवादीले जानकारी दिएको छ।

दलहरूका बीचमा प्याकेजमा सहमति नहुन्जेल वर्तमान सरकारले राजीनामा नगर्ने विषयमा पनि छलफल भएको प्रवक्ता सापकोटाले जानकारी दिए। आज सङ्गठनात्मक कार्यविधिका विषयमा सामान्य छलफल भएको र भोलि बस्ने बैठकले महाधिवेशनको कार्यविधिका विषयमा टुङ्गो लगाउने बताइएको छ। रासस

Leave a Reply

Your email address will not be published.