कमला चौधरी, बुटवल- बुटवल हेफर इन्टरनेसनल नेपालले स्थापना गरेको ७० हजार रुपैयाको क्षेत्रीय स्वर्णिम प्रतिभा पुरस्कार रुपन्देही पर्रोहा-५ उचडिहवा निवासी सुजनी चौधरीले प्राप्त गरेकी छन्। सानो आय आर्जनको कामबाट सफल जीवनयापन गरेको भन्दै चौधरी पश्चिमाञ्चल क्षेत्रमा छनौट भएको हेफरले जनाएको छ। संस्थाको न्यूनतम सहयोगबाट आफ्नो परिवारको आर्थिक उन्नति तथा सामाजिक क्षेत्रमा योगदान पुर्याएको भन्दै उचडिहवा स्वावलम्बन समूह बोलबाम सामुदायिक ग्रामिण स्वावलम्बन परियोजनाकी सुजनी चौधरीलाई नगद ७० हजारसहित प्रशंसा पत्रले सम्मान गरिएको हो।
२०२३ सालमा रुपन्देहीको मोतिपुर गाविसमा जन्मेकी सुजनी चौधरीको अवस्था अत्यन्तै गरिबीबीच गुज्रियो। उनले सानै उमेरमा जमिन्दारको घरमा काम गर्नु परेकालेलेख्ने-पढ्ने मौका पाइनन्।
१३ वर्षको उमेरमा पर्रोहा-५ उचडिहवा निवासी गर्वु थारुसँग विवाह भएपछि पारिवारिक झमेला र जिम्मेवारी झनै थपिँदै गयो। ठूलो परिवार, आर्थिक अभाव, अशिक्षा आदिले सुजनीको परिवार नै कलहमा डुब्यो। यही कारण उनी छुट्टै श्रीमानसँग बस्न थाले। छुट्टिँदा जग्गाको नाममा सानो घडेरीमात्र उनको भागमा परेपछि माइतीबाट काठपात ल्याएर सानो घर बनाए।तर घरायसी झगडाले अर्काको घरमा भाडा गरी बस्नुपर्ने अवस्था आयो। जीवन निर्वाह गर्न श्रीमान् श्रीमती दुबैले दैनिक मजदुरी गर्न थाले। ज्याला मजदुरीबाट दुई जनाले पाउनेखाजामध्ये एकको बाँडीचुँडी खान्थे। बाँकी एक जनाको भाग भने बेलुका बाल बच्चालाई ल्याइदिन्थे। अकस्मात श्रीमानको आखाँमा फलामको टुक्रा परेपछि सुजनी चौधरीलाई समस्याझनै थपियो।
समयक्रममा ६ वटा छोरीको जन्म र उनीहरुको पालनपोषण गर्न खोलामा गिट्टी कुट्ने, दैनिक ज्यालादारी गर्नेजस्ता काम सुजनीले गर्नुपर्यो। घरमा खान नभएर बेलौती खाएर हप्तौ बितएकाक्षण, माइतीको साहारामा तिनाउ खोलामा पुस-माघको जाडोमा २ वटा बच्चा डाडीमा राखेर गिट्टी कुटेर परिवार पाल्नुपरेको घटना सुजनीले बिर्सनै नसक्ने गरी बताइन्। यता छोरीमात्रै पाएको भन्दै श्रमानको निहुँ सामान्यजस्तै बनेको थियो। यसैक्रममा २०६३ कात्तिकमा आरएसडीएमबाट समूह गठन भएपछि क्रमशः सुजनीमा आशाका सञ्चार पलायो। २०६४ सालबाट हेफर इन्टरनेसनलद्वरा सञ्चालित परियोजनामा उचडिहवा स्वावलम्बन समूहको सदस्यका रुपमा सुजनीले प्रवेश पाए। उनले १ वर्षपछि अध्यक्षको जिम्मेवारी बहन गर्दै समूहमा नेतृत्वदायी भूमिका खेले।
हेफर र आरएसडीएमद्वारा सञ्चालित परियोजनामा सहभागी भएर विभिन्न तालिमसहित १ बंगुर र २ बाख्रामार्फत् आम्दानीको बाटोमा उनी अग्रसर हुँदै अगाडि बढे। यसरी आफ्नै मेहनतबाट एक वर्षमा ३०-४० हजार आम्दानी गर्न पुगे। विगत ३ वर्षदेखि वार्षिक १ लाख ५०हजार आम्दानी गर्दै आएको सुजनीले बताइन्। हालः परियोजनामा सहभागी भएर उनले करिब ६ लाख आफ्नै परिश्रमले आम्दानी गरेकी छन्। तालिमबाट सिकेका ज्ञानबाट कामलाई व्यवसायिक बनाउन सिकेपछि सुजनीले बंगुरपालन, कुखररापालन, तरकारी खेतीजस्ता काम गर्दै अगाडि बढे। श्रीमानले पनि कार्यक्रममा आधारशिला र जेण्डर तालिम सिके। तालिम लिएपछि सुजनीमा आएको व्यवहारिक परिवर्तनले उनको श्रीमान पनि सकारात्मक बन्दै गए। हालःश्रीमान कामको सिलसिलामा विदेशमा छन्।
आफ्नै कमाइले घर खर्च चलाउँदै आएकी सुजनी हालः सामसदायिक वन, विद्यालय, शिक्षक,अभिभावक संघ, सहकारीजस्ता संघसंस्थाको नेतृत्व लिँदै आएकी छन्। समुदायको नेतृत्व गर्ने हैसियत बनाउँदै गएकी सुजनीले आफ्नो अगुवाई र समूहका दिदी-बहिनीको सहयोगमा सासंद् विकास कोष (विष्णु प्रसाद पौडेल)बाट १ लख २५ हजार, पर्रोहा गाविसबाट ५० हजार,हेफरबाट ४९ हजार, जिविस रुपन्देहीबाट ३ लाख र विभिन्न इट्टा भट्टीबाट इट्टाहरु संकलन गरी सामुदायिक भवन निर्माण गरेकी छन्। सुजनी चौधरी एउटा यस्तो व्यक्ति हुन् जसले जमिनदारको घरमा काम गरिन्। १३ वर्षमा विवाह भयो। ६ वटी छोरी जन्मिए, गरिबी र पारिवारिक बेमेलका कारण खान र बस्नको समस्यासँग जुधिन्, तिनै व्यक्ति आज आएर व्यवसायिक सोचको विकास गरेका छन्। घर बनाएका छन्, समाजमा एक उदाहरणीय काम गरेका कारण हेफर इन्टरनेसनल नेपालबाट स्वर्णिम प्रतिभा पुरस्कारबाट सम्मानित भएकी छन्।