सन्तोष दहित– थारु समुदायले परम्परागतदेखि मान्दै आएको भुह्यारथान (ठन्ह्वा) संकटमा पर्दै आइरहेको बेला तुलसीपुर नगरपालिका–५, जबरपुरमा भने दाङकै नमूना भुह्यारथान (ठन्ह्वा) बन्दै छ। करिब ३ क्ठ्ठामा निर्माण हुँदै आएको भुह्यारथान (ठन्ह्वा) अहिले अन्तिम चरणमा छ। पक्की इट्टाको पर्खालको भित्र बन्न लागेको भुह्यारथान पक्की भवनमा र ठूलो आकारमा बन्न लागेको दाङको सम्भव त यो पहिलो हो। यद्यपि कुनै गाउँमा पक्की भवनको भुह्यारथान बनेता पनि तुलसीपुरमा निमार्ण हुन लागेको सबैभन्दा ठूलो भएको स्थानीयले दाबी गरेक छन्। यसरी सुरक्षितरुपमा र यति ठूलो क्षेत्रफल पनि कतै नरहेको यहाँका स्थानीयले बताएका छन्।
भुह्यारथानलाई जिल्लाकै नमूनाको रुपमा निमार्ण गर्ने उद्देश्ले यहाँका स्थानीयहरु लागि परेको भुह्यारथान (ठन्ह्वा)का अध्यक्ष एवं कानुन व्यवसायी रामशरण चौधरीले बताए। उनले भने, –‘भुह्यारथान निर्माणका लागि लामो समयसम्म विवादमा थियो, आफू अध्यक्ष भएपछि तुरुन्त यो काम अगाडि बढाए, सबैले सहयोग गरे र आज यहाँसम्म आइपुगेको छ।’
आफू अध्यक्ष भइसके पनि भुह्यारथान निमार्णका लागि जग खन्ने बेला विभिन्न समूहबाट पटक–पटक अवरोधको सिर्जना भयो, ज्यान लिनेसम्म धम्की दिए, तर आफू कतै बिचलित नभएर प्रहरी र स्थानीयको सहयोगमा अन्तत भुह्यारथान निमार्ण गर्ने उद्देश्य सफल भएको चौधरीले बताए। ‘यो जीत यहाँको स्थानीय जनताको जीत हो, उनले भने, ‘बिशेषगरी आदिमकालदेखि यहाँ बस्दैआएको आदिवासी जनजाति थारुहरुको पूजा गर्ने एकमात्र धार्मिक स्थल भनेको भुह्यारथान (ठन्ह्वा) हो, विविध कारणले भुह्यारथान (ठन्ह्वा) नहुँदा यहाँको आदिवासी थारुहरु भुह्यारथानमा पूजा गर्नबाट वञ्चित थिए। अब ढिलै भए पनि यहाँक जनता पूजा गर्न पाउने भए।’ उनले भने, ‘भुइह्यारथान (ठन्ह्वा) झ्वाट्ट हेर्दा आदिवासी जनजाति थारु समुदायको मात्र भए पनि यो सबै जातजातिको धार्मिक सहिष्णुता र पवित्र स्थल हो।’ यसमा सबैले पूजा गर्न पाउने अधिकार छ। भुह्यारथान (ठन्ह्वा) थारु जातिको मात्र नभएर साझा मन्दिरजस्तै हो,’ चौधरीले भने।
चौधरीका अनुसार तुलसीपुर नगरपालिकाको ३ वटा वडाको संयुक्त पहलमा निर्माण भइरहको जानकारी दिए। तुलसीपुर नगरपालिकाको ४, ५ र ६ वडालाई अहिले समेटेर सबैको साझा मन्दिरजस्तै बनाउको लागेको अध्यक्ष चौधरीले बताए। भुह्यारथान (ठन्ह्वा) निर्माण र पर्खाल निर्माणको लागि करिब ५ लाख बढी पर्ने भनिए पनि हालसम्म २ लाख ५० हजारमात्र उठेको उनले बताए। शान्ति मन्त्रालयअन्तर्गत जिल्ला विकास समितिबाट २ लाख र सभासद् बुद्धिराम भण्डारीको सांसद कोषबाट ५० हजारबाहेक अरु कतैबाट सहयोग नआएको उनले बताए।
भुह्यारथान (ठन्ह्वा) र पर्खाल निमार्णका लागि १ मिस्त्री र २ लेबरबाहेक १ सय ८० जना स्थानीयवासीले स्वतस्फूर्तरुपमा श्रमदान दिइ सहयोग गरेको चौधरीले बताए। ‘मान्छेमा गर्ने मन र आँट भएपछि काम त्यसै सम्पन्न हुँदोरहेछ,’ चौधरीले भने, ‘जायज काममा हात हाल्दा सबैले सहयोग गर्दाेरहेछन् भन्ने कुरा पनि आफूलाई सिकाइ भयो।’ ‘पहिले पहिले यस्तो विवादित ठाउँमा किन आएजस्तो लाग्थ्यो र साथीभाइ, इष्टमित्रले पनि यही कुरा भन्थे, तर काम गर्दै जादाँ सबैले सहयोग गरे। अहिले सबैले धन्यवाद दिन्छन्, खुशी लाग्छ,’ उनले भने।
तुलसीपुर नगरपालिकाको ४, ५ र ६ वडालाई छोएको करिब ६ वटा बाटोको केन्द्र बिन्दुमा रहेको भुह्यारथान भविष्यका लागि पर्यटकस्थाल बन्ने सम्भावाना रहेको भुह्यारथान (ठन्ह्वा)का उपाध्यक्ष एवम थारु युवा बुद्धिजीबी नारायण चौधरीले बताए। पुर्खाहरुले मान्दै आएको भुह्यारथान (ठन्ह्वा) थारु समुदायको एकमात्र पहिचान हो । यसको संरक्षण र प्रबद्र्धनको लागि विशेषगरी थारु युवाले लाग्नुपर्ने चौधरीको भनाइ छ। उनले भने, ‘अरुको आशा नगरौं, आफ्नो कला, संस्कृतिको संरक्षण र जर्गेना गर्न आफैं जुटनुपर्छ । कसैले गर्देला न सोँचौ।’
भुह्यारथान (ठन्ह्वा)मा पूजा गरेपछि गाउँको सुरक्षा हुने, आत्मविश्वास बढने, गाउँमा बिरामी नहुने, शुभसाइत हुने, अन्नबालीमा किराँकाटी नलाग्ने थारु समुदायमा विश्वास रहँदै आएको छ।
सहयोगीको नाम शिलालेखमा लेखिने
यसैगरी भुइह्याथान (ठन्ह्वा) निमार्णको लागि ५ हजारभन्दा माथि सहयोग गर्ने दाताहरुको नाम शिलालेखमा लेखिने भुह्यारथान (ठन्ह्वा)का अध्यक्ष रामशरण चौधरीले जानकारी दिए। उनाँले भने, ‘यदि कसैले भुह्यारथान (ठन्ह्वा) निर्माणको लागि सहयोग गर्न चान्छन् भने हामी ढोका खुल्ला गरेका छौं।’ ५ हजारभन्दा बढी सहयोग गर्नेको नाम शिलालेखमा लेखिने छ र दाताहरुलाई विशेष कार्यक्रम गरी सम्मान पनि गर्नेछौं।’
भुह्यारथान (ठन्ह्वा) झ्वाट हेर्दा थारु समुदायको मात्रजस्तो मानिए पनि यो सबैको साझा र धार्मिक पवित्र मन्दिर हुने उनले स्पष्ट पारे। ‘कसैले यो विषयमा टिकाटिप्णी गरिरहनु पर्दैन,’ चौधरीले भने, ‘जिल्लाको एकमात्र नमूनाको रुपमा निर्माण भइरहेको भुह्यारथानलाई सफल बनाउन आ–आफ्नो क्षेत्रबाट आर्थिक, नैतिक, भौतिकरुमा सहयोग गरिदन सबैमा अपिल गर्दछ।’