कञ्चनपुर- कञ्चनपुरको दक्षिणी क्षेत्र शङ्करपुरका बासिन्दा पाँच वर्षदेखि बाढीको डरले वर्षात सुरु हुनु अगावै जीउधनको सुरक्षा गर्न लाल झाडी वनतर्फ लाग्छन् भने वर्षातको मौसम सकिएपछि गाँउका घरमा फर्कने गरिएका छन्। दोदा नदीमा आउने बाढीले बर्सेनि बस्ती डुबाउन थालेपछि बासिन्दाले जङ्गलमा कच्ची घर बनाएर बस्ने गरेका छन्।
विसं २०६५ देखि दोदा नदीको बाढी गाउँ पस्न थालेपछि बासिन्दाहरू जङ्गलमा बस्न थालेको शङ्करपुर–१ कञ्जका निर्मल रानाले बताए। बाढीले पूर गाउँ डुबानमा परेपछि जङ्गलमा बसेका हौं,’ उनले भने।
कञ्जनजिक लालझाडीको भाकल डाँडामा अहिले पाँच दर्जन परिवारका छाप्रा छन्। वन कार्यालयसँग समन्वय गरी बासिन्दाले जङ्गलमा बस्न थालेको रानाले बताए। जिल्लाको सबैभन्दा पुरानो बस्ती बाढीका कारण ६ महिना सुनसान हुने गरेको छ। “बर्खामा सबै उतै जङ्गलमा जान्छन्, हिउँद लागेपछि केही परिवार गाउँ फर्किन्छन्,” स्थानीय बद्री रानाले भने, “हामीले जङ्गलमै घरबार बनाएका छौँ।”
बाढीले जग्गा कटान र बालुवा थुपारेपछि खेतीपाती गरी जीविका चलाउन समस्या परेको छ। शङ्करपुर कञ्जका शंकर रानाले बाढीले खेतीयोग्य जमिन बगाएपछि अँधिया गरी जीविका चलाउने गरेको बताए। उब्जाउ १५ कट्टा जग्गा बाढीले काम नलाग्ने बनाएको छ रानाले भने, ‘अहिले जङ्गलमा बसेर अँधिया गरी परिवार पालेको छु।’
दोदा नदीको पूर्वपट्टी छ र पश्चिमपट्टि तीन वडा छन्। आदिवासी राना समुदायको बाहुल्यता रहेको पारीका बासिन्दाले जङ्गलमा बस्ने गरेका हुन्। चार वर्षदेखि बाढी बस्ती पस्न थालेपछि अधिकांश बासिन्दाले आफ्ना घर भत्काएका छन्।
गाउँमा पक्की घर भएकालाई भने उठाउन समस्या देखिएको समुदायका अगुवा रानाले बताए। भानु माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका निर्मल रानाको पक्की घर छ। बाढीले घरको आधी डुबाउने रानाले बताए। पक्की घर हुने बासिन्दाले घर उठाउन नसकेपछि वर्षायाममा जङ्गलतिर बस्ने गरेको उनले बताए।
दोदा नदीमा २०४० सालदेखि बाढी आउने थालेपछि २०६५ ले बस्तीमा क्षति पुर्याएको बासिन्दाले बताए। दोदामा स्याली नदी मिसिएपछि बाढी आउने थालेको बासिन्दा बताउँछन्।
विसं २०६५ देखि आउने बाढी बस्तीमा नपुगेको वर्ष छैन। बाढीले झोलुङ्गे पुल भत्काएपछि वर्षायाममा शंकरपुरका बासिन्दा वारिपारि गर्न सक्दैनन्। हिउँदमा भने बासिन्दाले बाँसको प्रयोग गरी पूल बनाएका छन्। बर्खामा स्थानीयले डुङ्गाको सहारामा आवतजावत गर्छन्।
गत वर्ष डुङ्गा पल्टिँदा चारजनाको मृत्यु भएको थियो।। राजनीतिक दल, प्रशासन र वन कार्यालयले लालझाडीमा सीमा तोकेर बस्न दिएको छ। वन कार्यालयले कहिलेकाहीँ उठाउने कुरा गर्दा सबै चिन्तित हुन्छन् शंकर रानाले भने,“ हामीलाई व्यवस्था नगरी गाउँ फर्किने अवस्था नै छैन।” रासस
Latest Updated
- जेलबाट रेशम चौधरीको कविता, ‘वाह, क्या जाती हुन्थ्यो !’
- लक्ष्मण थारुको लेख : असोज तीन कालो दिन किन ?
- रहर_पार्ट थ्री, अफिसियल म्युजिक भिडियो
- थारु समाज कास्कीको ११औं साधारणसभा तथा जितिया विशेष कार्यक्रम सम्पन्न
- प्रधानमन्त्री ओलीलाई लक्ष्मण थारुको चेतावनी- ‘तागत छ भने सिधासिधा लडे हुन्छ’
- थापस महाधिवेशनको भ्रम र यथार्थ
- टीकापुर सम्मेलनले दिएको सन्देश
- थरुहट थारुवान राष्ट्रिय मोर्चाको संयोजकमा लक्ष्मण थारु
- टीकापुर सम्मेलन : थरूहट थारूवान प्रदेशका लागि आन्दाेलन प्रस्ताव
- बीस हजारको सहभागिता रहेको टीकापुर सम्मेलनको फोटो फिचर