मधेसी मोर्चाले प्रधानमन्त्रीलाई जवाफ लेख्ने

आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सार्थक वार्ताको वातावरण बनाउन आग्रह गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई जवाफी पत्र पठाउने भएको छ। बुधबार साँझ मोर्चामा सहभागी तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी र मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्षको अनौपचारिक बैठकले वार्तामार्फत समस्या समाधान खोज्न मोर्चा तयार रहेको ठहर गरेको हो।

उनीहरुले वार्ताका लागि वातावरण बन्दै गएको ठहर गर्दै केही दिनभित्र सार्थक वार्ताको वातावरण बन्ने विश्वास लिएका छन्। ‘वार्ताको कुनै विकल्प छैन,’ बैठकमा सहभागी एक नेताले भने, ‘वार्ताका नाममा ठग्ने होइन, समस्या समाधान हुनेगरी बस्नुपर्छ भन्नेमै छौं।’

औपचारिक वार्तामा बस्नुपूर्व विभिन्न चरणमा अनौपचारिक बैठक र छलफलपछि मात्र औपचारिक वार्तामा बस्नुपर्ने उनीहरूको भनाइ छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस पनि अनौपचारिक वार्ता र गृहकार्यपछि मात्र औपचारिक वार्ता गर्नुपर्ने पक्षमा रहेको जनाउँदै मोर्चा नेताले वार्ताका लागि सकारात्मक पहल गर्ने ठहर गरेका छन्। ‘दुनियाँलाई देखाउन मात्र वार्ताका लागि पत्र पठाउने होइन र गर्ने होइन,’ फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले भने, ‘सार्थक र निर्णायक वार्ताको पक्षमा छौं।’

संविधानमा रहेको विभेदपूर्ण व्यवस्थालाई संशोधन गर्न प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस तयार रहेको र नेकपा (माओवादी केन्द्र) पनि सकारात्मक रहेको ती नेताले जानकारी दिए। ‘एमाले पनि नरम देखिएको छ,’ एक नेताले भने, ‘एक/दुई दिनभित्रै वार्ताका लागि वातावरण बन्छ भन्नेमा आशावादी छौं।’

उपत्यकाबाहिर रहेका संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव काठमाडौं आएपछि मोर्चाको औपचारिक बैठक बसेर प्रधानमन्त्रीलाई जवाफ पठाउने उनीहरुबीच समझदारी बनेको छ। ‘उपेन्द्रजी आएपछि मोर्चाको बैठक बसेर प्रधानमन्त्रीको पत्रको जवाफ पठाउने छौं,’ फोरम गणतान्त्रिकका अध्यक्ष यादवले भने, ‘हामीले अघि सारेका पूर्वसर्त पूरा गरा गर्न रिमाइन्ड गराउँछौं।’

प्रधानमन्त्री ओलीले जेठ १० गते पत्र पठाउँदै मोर्चालाई वार्तामा आउन आह्वान गरेका थिए। तर, प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा मोर्चा सहभागी भएन। प्रधानमन्त्रीको पत्रलाई लिएर मोर्चाभित्र आशंका उब्जिएपछि बुधबार भएको अनौपचारिक बैठकमा अन्य नेताले तमलोपा अध्यक्ष ठाकुरसँग त्यस विषयमा चासो राखेका थिए। जवाफमा ठाकुरले प्रधानमन्त्रीसँगको भेटमा मोर्चा सार्थक वार्ताको पक्षमा रहेको जनाउँदै त्यसका लागि पहल गर्न आफूले आग्रह गरेको स्पष्ट पारेका थिए।

‘हामी वार्ताविरोधी होइनौं, सार्थक वार्ता गरौ भन्दै आएका हौं,’ ठाकुरलाई उद्धृत गर्दै यादवले भने, ‘विगतका वार्ता पनि उपलब्धिमूलक भएनन्, अब वातावरण बनाएर बोलाउनु भनेको थिएँ, प्रधानमन्त्रीले के बुझ्नुभयो त्यसै बैठक बोलाउनुभएछ।’

ठाकुरको पछिल्लो निष्त्रि्कयताप्रति शंका गर्दै नेताहरूले आन्दोलनमा सक्रिय हुन आग्रहसमेत गरे। पार्टीको महाधिवेशन संघारमै आएकाले केही समय त्यसमा व्यस्त हुनुपरेको जनाउँदै ठाकुरले आन्दोलनमा सँगै रहेको जनाएका थिए।

सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सार्थक र परिणाममुखी वार्ताको अवस्था बने र संघीय गठबन्धनलाई पनि सहभागी गराए मात्रै सरकारसँग वार्तामा बस्ने बताए। ‘मोर्चाको विकल्प गठबन्धन र गठबन्धनको विकल्प मोर्चा नभएकाले सरकारले मधेसी मोर्चासहित संघीय गठबन्धनलाई पनि वार्तामा बोलाउनुपर्थ्यो,’ महतोले भने, ‘सार्थक र परिणाममुखी वार्ताको वातावरण बने हामी वार्तामा बस्छौं।’

मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले सरकारले साँचिक्कै राजनीतिक निकास खोजेको भए आन्दोलनमा मृत्यु भएकालाई सहिद घोषणा, क्षतिपूर्ति, घाइतेको उपचार, झूठा मुद्दा फिर्ता र पक्राउ परेकालाई रिहा गर्नुपर्ने बताए। ‘११ बुँदे मागप्रति ठोस धारणा ल्याए मात्र नमिलेको कुरालाई वार्ताबाट समाधान गर्न वार्तामा बस्छौं,’ उनले भने, ‘आन्दोलन हाम्रो चाहना होइन, बाध्यता हो।’

नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झाले मोर्चाले चैत महिनाभरि अल्टिमेटम दिँदा पनि सरकार वार्ताका लागि गम्भीर नभएको आरोप लगाए। वार्ताका लागि सरकारले प्रष्ट विचार ल्याए त्यसबाट पछि नहट्ने उनको भनाइ छ। उनले मोर्चामा छलफल गरेर वार्तामा बस्ने जानकारी दिए।

Leave a Reply

Your email address will not be published.