विद्यार्थीले बनाए रोवोट

लहान- सिरहाको लहानस्थित सामुदायिक विद्यालयमा अध्ययन गरिरहेका एक विद्यार्थीले रोवोट बनाएका छन्। लहानस्थित पशुपति आदर्श उच्च माविमा कक्षा १० मा अध्ययनरत लहान–४ का श्रीकान्त पण्डितले उपयोग सकिएर फालिएका सामान जोडेर रोवोट बनाएका हुन्। ‘मसी सकिएका डटपेन, भाँच्चिएका प्लास्टिक कुर्सीका खुट्टा, खेलौनाको विद्युतीय मोटर र पेनियन चक्का, मोबाइलको पुरानो ब्याट्री, पेनटर्चको चिम र तार जोडेर रोवोट बनाएको हुँ,’ पण्डितले भने।

‘आइरन म्यान’ नामको रोवोटको निगेटिभ र पोजिटिभ तार जोडेपछि टाउकोमा जडान गरिएको चिम बाल्दै करिब डेढ फिट उचाइको रोवोट अगाडि बढ्ने गरेको उनले बताए। ‘माटोको भाँडा वर्तन बनाउने पेसा गरेका बाबु रामसेवक पण्डितसँगै हिँडेर माटोको मूर्ति बनाउँदाबनाउँदै रोवोट बनाउन सक्छु भन्ने लागेको थियो’ उनले आफ्नो विगत सुनाए।

माटोको मूर्तिमा खेलौनाको मोटर जडान गरेर हात, खुट्टा चल्ने बनाएदेखि नै रोवोट बनाउन सक्छु भन्ने सोच आएको सुनाउँदै उनले भने …विज्ञान विषयको प्रयोगात्मक अभ्यासमा पनि विद्युतीय घण्टी बनाएको थिएँ, त्यसपछि त झन् उत्सासहित भएँ।’

पण्डितका अनुसार आफूले बनाएको रोवोटलाई थप परिष्कृत गरेर ठूलो आकारको बनाएपछि त्यसले बन्दुक समेत पड्काउन सक्नेछ। सामान्य आर्थिक अवस्थाका उनले आफूलाई थप प्रोत्साहन र सहयोग प्राप्त भए भविष्यमा थप नयाँ खोज गर्ने उद्देश्य रहेको सुनाए।
पण्डितले आफू अध्ययन गरिरहेको विद्यालयका विज्ञान शिक्षक अरुणप्रसाद गिरीसहित अन्य शिक्षकहरूको प्रेरणाले उत्साहित भएको बताए। विद्यालयका निमित्त प्राचार्य परमेश्वर रायले आफ्नो विद्यार्थीले गरेको खोजलाई थप परिष्कृत र उपयोगी बनाउन आवश्यक आर्थिक र भौतिक सहयोग गरिने बताए। रासस

Leave a Reply

Your email address will not be published.