नेपाल आयल निगमको भ्रष्टाचार छानबिन सुरु

विराटनगर- सरकारको स्वामित्वमा रहेको नेपाल आयल निगम क्षेत्रीय कार्यालय विराटनगरमा भएको आर्थिक अनियमितता र भ्रष्टाचार सम्बन्धमा छानबिन सुरु गरिएको छ। आयल निगम आन्तरिक नियन्त्रण विभाग काठमाडौँका निर्देशक सागर सत्यालको नेतृत्वमा आएका चार सदस्य टोलीले आजदेखि छानबिन सुरु गरेको हो।

निगमको क्षेत्रीय कार्यालयमा पेट्रोलियम पदार्थ भारतको वरैनीबाट ढुवानी गर्दा ट्याङ्करहरूसँग कमिसन लिने गरेको, पूर्व क्षेत्रका पेट्रोल पम्पहरूले उपभोक्तासँग पेट्रालियम पदार्थ बिक्री गर्दा प्रतिलिटर गैर कानुनीरुपमा अत्याधिक मूल्य लिने गरेको तथा पेट्रोलियम पदार्थ लिएर आउने ट्याङ्करले बाटैमा सिल तोडी तेल निकाली बिक्री वितरण गर्ने र कर्मचारीलाई त्यसबाट कमिसन दिने सम्बन्धमा उजुरी परेपछि छानबिन सुरु गरिएको बताइएको छ।
यस्तै गत असार महिनामा १५ हजार लिटर पट्रोल हिनामिना एवम् चोरी भएको सम्बन्धमा पनि टोलीले छानबिन सुरु गरेको छ। निगमको क्षेत्रीय कार्यालयमा कर्मचारीको मिलेमतोमा अनियमितता एवम् भ्रष्टाचार हुने गरेको भन्ने उजुरी परेकाले सो सम्बन्धमा छानबिन गर्न टोली खटाइएको निर्देशक सत्यालले बताए।
छानबिनका लागि आएका टोलीमा निगमका उपनिर्देशक शरद पौडेल, प्रबन्धक चण्डी कार्की र आपूर्ति मन्त्रालयका एक कानुन अधिकृत हुनुहुन्छ। रासस

Leave a Reply

Your email address will not be published.