पाँच स्थानमा केबुलकार सञ्चालन गर्ने सरकारको तयारी

रमेश लम्साल, काठमाडौं- सरकारले देशका पाँच स्थानमा केबुलकार सञ्चालन गर्ने भएको छ। सरकारले गरेको अध्ययनअनुसार केबलकार सञ्चालनका लागि मुलुकको पाँच स्थान उपयुक्त देखिएको हो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गरेको अध्ययनअनुसार सुनसरी–धनकुटा, कालिकोट, डोटी र काभ्रेपलाञ्चोक जिल्लामा केबलकार सञ्चालनको सम्भाव्यता देखिएको हो। मन्त्रालयले गरेको सम्भाव्यता अध्ययनमा यी पाँच स्थान उपयुक्त देखिएको र सञ्चालनका लागि पनि सहज रहेको बताइएको छ।

मन्त्रालयले गरेको अध्ययनबाट करिब डेढ अर्बको लागतमा सुनसरी–धनकुटा, कालिकोट, डोटी र काभ्ा्रे जिल्लामा केबलकार निर्माण गर्न सकिने देखिएको छ। काभ्रेको धुलिखेलदेखि पलाञ्चोक भगवतीसम्म, सुनसरीको धरानदेखि धनकुटाको भेडेटारसम्म, कालिकोटको कोटबाडादेखि चाल्नासम्म र डोटी–खप्तडमा केबलकार सञ्चालन गर्न सकिने सम्भावना देखिएको मन्त्रालयका पर्यटन पूर्वाधार विकास आयोजना प्रमुख प्रकाश रघुवंशीले बताए।

चारवटै स्थानमा निर्माणको जिम्मा भने निजी क्षेत्रलाई दिने तयारी गरिएको छ। मन्त्रालयले सम्भाव्यता अध्ययनका लागि मात्रै रु २५ लाख खर्च गरिसकेको छ। रघुवंशीका अनुसार थानकोट चन्द्रागिरिको काम भने तिहारपछाडि नै अगाडि बढाउने गरी तयारी भइरहेको छ।

आयोजना प्रमुख रघुवंशीले दिनुभएको जानकारीअनुसार मनकामना दर्शन प्रालिले सञ्चालनमा ल्याएको केबलकारको सकारात्मक अनुभवले पनि निजी क्षेत्रका लगानीकर्ता उत्साहित देखिएका छन्।
चारवटै स्थानमा वातावरणीय अवस्था मूल्याङ्कनका लागि वातावरण मन्त्रालयमा पठाइएको र सो मन्त्रालयबाट पनि सकारात्मक जवाफ आएकाले काम अगाडि बढ्नेमा उनी विश्वस्त छन्। सरकारले सरकारी निजी साझेदारीमा केबलकार सञ्चालन गर्ने बताए पनि व्यवस्थापनमा आउन सक्ने जटिलताका कारण निजी क्षेत्रलाई नै सञ्चालनका लागि अभिप्रेरित गरिएको र निजी क्षेत्रले चासोसमेत राखेको मन्त्रालयले जनाएको छ।

लगानीको तुलनामा प्रतिफल उच्च रहने भएकाले केबलकार सञ्चालनमा निजी क्षेत्र उत्साहित रहेको आफूले पाएको रघुवंशीले जानकारी दिए। धुलिखेलदेखि पलाञ्चोक भगवतीसम्म ११ किलोमिटर लामो केबलकार निर्माण गर्न सकिने छ भने सो दूरी पार गर्न केबलकारलाई ३५ मिनेट लाग्ने बताइएको छ।

सो स्थानमा केबलकार निर्माणका लागि रु ५३ करोड लाग्ने अनुमान गरिएको छ। अध्ययनअनुसार आगामी चार वर्षमै सो स्थानमा केबलकार स्थापना गरेर सञ्चालन गर्न सकिने देखिएको छ।

प्रतिघन्टा १८० जना यात्रुलाई आवतजावत गराउन सक्ने पलाञ्चोक केबलकारले नौ वर्षमै लगानी उठाउने देखिएको छ। धुलिखेलदेखि पलाञ्चोक भगवतीसम्मको केबलकारको सम्भाव्यता अध्ययन ब्रिज कन्सल्ट्यान्सीले गरेको बताइएको छ।

कालिकोटको केबलकार निर्माणका लागि रु १२ करोड २६ लाख लाग्ने देखिएको छ। सो केबलकार मार्गको दूरी एक दशमलव ९ किलोमिटर रहने र सो दूरी पार गर्न केबलकारलाई करिब आठ मिनेट लाग्ने अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ।

प्रतिघन्टा १२० जनाले आवतजावत गर्न सक्ने सो केबलकार निर्माण गर्न तीन वर्ष लाग्ने देखिएको छ। रोपवे एन्ड केबलकार नामक निजी कम्पनीले गरेको अध्ययनअनुसार सञ्चालनको दुई वर्ष १० महिनामा लगानी फिर्ता हुने देखिएको छ।

धरान र भेडेटारबीचमा दुई दशमलव आठ किलोमिटर लामो केबलकार बनाउन सकिने अध्ययनमा देखिएको छ। आठ मिनेट पाँच सेकेण्डमा उक्त दूरी पार गर्न सकिने सो केबलकार निर्माण गर्न रु ३८ करोड लाग्ने अध्ययनमा देखिएको आयोजना प्रमुख रघुवंशीले बताए। तीन वर्षमा निर्माण सम्पन्न हुने धरानको केबलकार सञ्चालनमा आएको साढे चार वर्षमा लगानी फिर्ता हुने अध्ययन प्रतिवेदनमा उल्लेख छ। बिजिकर्न इञ्जिनियर कन्सल्ट्यान्सीले सो केबलकारको सम्भाव्यता अध्ययन गरेको थियो।

यसैगरी डोटीमा अध्ययन भएको तीन किलोमिटर लामो दूरीको केबलकारको अनुमानित लागत रु ३९ करोड छ। सो दूरी आठ मिनेट पाँच सेकेण्डमा पार गर्न सकिने र निर्माणमा करिब तीन वर्ष लाग्ने पनि प्रतिवेदनमा उल्लेख छ। सञ्चालनमा आएको करिब पाँच वर्र्षमा यसको लगानी उठ्न सक्ने अध्ययनले देखाएको छ।

डोटीको यो केबलकारको सम्भाव्यता अध्ययन बिम कन्सल्ट्यान्सीले गरेको थियो। मन्त्रालयले यसअघि काठमाडौँको चन्द्रागिरि, शिवपुरी, ललितपुरको फुलचोकी, रसुवाको गोसाइँकुण्ड, दोलखाको कालीञ्चोक, मुस्ताङको मुक्तिनाथ र गुल्मीको रेसुङगामा केबलकार सञ्चालनका सम्भाव्यता अध्ययन गरेको थियो।

मन्त्रालयले अध्ययन गरेका सबै स्थानमा केबलकार सञ्चालनको सम्भाव्यता देखिए पनि काठमाडौँको चन्द्रागिरिमा मात्र निजी क्षेत्रले केबलकार बनाउन चासो देखाएको छ। मनकामना दर्शन प्रालिले चितवनको चेरेसदेखि मनकामना मन्दिरसम्म सञ्चालन गरेको केबलकारको लगानीभन्दा बढी आम्दानी भएको भन्दै केबलकार निर्माणमा निजी क्षेत्रको चासो बढेको हो। रासस

Leave a Reply

Your email address will not be published.